काठमाडौं- सरकारले नर्सहरूलाई रोजगारीका लागि बेलायत पठाउने सम्झौता गर्ने तयारी गरेको छ। बेलायतले स्वास्थ्यकर्मीको आवश्यकता भएको सूचना पठाएसँगै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सहरूलाई रोजगारीमा पठाउने तयारी थालिएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार नेपालस्थित बेलायती राजदूतवासले नेपालसँग श्रम सम्झौता गरी १० हजार नर्स रोजगारीका लागि लैजाने प्रस्ताव गरेको हो। मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार प्रस्तावमाथि छलफल गरी सम्झौताको खाका बनाउने कामसमेत थालिएको छ।
उनका अनुसार बेलायतमा नर्स पठाउने विषयमा बेलायती नेसनल हेल्थ साइन्सेससँग वार्ता गर्न डा बिनु बज्राचार्यको नेतृत्वमाको नेपालका तर्फबाट वार्ता समिति गठन गरिएको छ। बेलायतले पठाएको प्रस्तावमाथि छलफल गरी नर्स पठाउने प्रक्रिया र मापदण्डका विषयमा समितिले राय पेस गर्नेछ।
सरकारले पहिलो चरणमा २ सय जनालाई बेलायत पठाइने र बाँकीका हकमा भने समितिले पेस गरेको रायका आधारमा निर्णय गरिने सचिव गौतमले जानकारी दिए।
बेलायत जाने नर्सहरुको आर्थिक दायित्व कसले व्यहोर्ने भन्ने निर्णय भएको छैन। यद्यपि २ सय जना नर्सलाई भने अबको एकदेखि डेढ महिना भित्रमा पठाइसक्ने योजना रहेको उनले जनाकारी दिए। ‘२ सय जना पठाउने तयारी सुरु भइसकेको छ। श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको छ। अबको एक ढेड महिनामा उहाँहरु बेलायत जानुहुन्छ,’ सचिव गौतमले भने।
बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने बताइएको छ। सचिव गौतमका अनुसार अनुभव भएका नर्सलाई बेलायत पठाइनेछ। दुवै देशबीच चाँडै श्रम सम्झौता भए सन् २०२२ को मध्यतिर नर्स रोजगारीमा पठाउन सकिनेछ।
यसअघि सन् २००५ मा पनि बेलायतले चार हजार नेपाली नर्सलाई जागिर दिने प्रस्ताव गरेको थियो। तर त्यसबेला सरकारले नर्सलाई बेलायत पठाउन सकेको थिएन।