काठमाडौं- नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले घरजग्गाको मूल्यवृद्धि २६ प्रतिशतभन्दा बढी भएको देखाएको छ। राष्ट्र बैंकको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनले आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा औसतमा घरजग्गाको मूल्यवृद्धि २६.४६ प्रतिशत पुगेको देखिएको हो।
वाणिज्य बैंकहरूका आधारमा तयार पारिएको यो तथ्यांक सरकारी निकायको तथ्यांकसँग भने मेल खाँदैन। मालपोत कार्यालयहरूको तथ्यांकका आधारमा आव २०७६/७७ मा घरजग्गाको मूल्यवृद्धि करिब २० प्रतिशत देखिएको अध्ययनले उल्लेख गरेको छ।
गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा वाणिज्य बैंकहरूको तथ्यांकका आधारमा १६.३१ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको देखिएको छ भने मालपोत कार्यालयहरूको तथ्यांकका आधारमा भने १२.५७ प्रतिशत मात्र मूल्यवृद्धि भएको देखिएको छ। अघिल्लो आवका तुलनामा गत आवको पहिलो ९ महिनामा घरजग्गा कारोबारमा शिथिलता आएको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। कारोबारमा शिथिलता आएसँगै मूल्यवृद्धि पनि अघिल्लो आवका तुलनामा गत आवमा केही कम हुने देखिएको राष्ट्र बैंक अध्ययनको निष्कर्ष छ।
घरजग्गाको मूल्यांकनका लागि प्रत्येक प्रदेश समावेश हुने गरी २० वटा जिल्ला २० वटा केन्द्रलाई तथ्यांकको स्रोत मानी अध्ययन गरिएको थियो।
घरजग्गाको मूल्य सर्वेक्षणका लागि राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभाग हेर्ने डेपुटी गभर्नरको संयोजकत्वमा ५ सदस्यसीय उच्चस्तरीय निर्देशन समिति तथा विभागकै मूल्य डिभिजन हेर्ने निर्देशकको संयोजकत्वमा ५ सदस्यीय प्रवाधिक उपसमिति गठन गरेको थियो।
अध्ययन प्रतिवेदनको पूर्णपाठ