शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अब नागरिकको हातहातै डिजिटल भुक्तानी हुन्छ : गभर्नर अधिकारी

अब नागरिकको हातहातै डिजिटल भुक्तानी हुन्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन्। नेपाल क्लियरिङ्ग हाउसले बिहीबार नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनी गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताएका हुन्। 

गभर्नर अधिकारीले अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम हुने बताए। ‘यो पहिलो चरणबाट नेपालभित्र हुने डिजिटल कारोबारको भुक्तानी गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउने काम पुरा गर्दछ,  नेसनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसअन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम गर्ने छ,' उनले भने, 'पहिलो चरणमा कार्ड बाहेकका रिटेल, दोस्रो चरणमा कार्डको लागि नेसनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइने छ।’

नेपाल बैंकर्स संघका उपाध्यक्ष अनीलकुमार उपाध्यले नेसनल पेमेन्ट स्वीचको पहिलो चरण कार्यक्रमले नेपालमा डिजिटल भुक्तानी प्रणाली कारोबारलाई प्रविधिमैत्री बनाउन थप सहयोग पुग्ने बताए। 

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल  क्लियरिङ्ग हाउसले नेसनल पेमेन्ट स्वीचको थालनी गर्नु धेरै राम्रो काम भएको उल्लेख गरे। नेपालको आफ्नै भुक्तानी पेमेन्ट स्वीच सेवा थालिनु अत्यन्तै महत्वपूर्ण विषय भएको बताएका थिए। ‘यो प्रणालीमा सबै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भए मात्रै सफल हुन्छ,हामी यो प्रणालीको विस्तारको लागि पूर्ण सहयोग गर्ने तयार रहेका छौं,’ उनले भने। 

एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग आज नै सम्झौता गरेको छ। सरकारको बजेट तथा मौद्रिक नीतीमा उल्लेख गरे अनुसार नेसनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएको थियो। नेसनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरुसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेसनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलले बताएको छ।

प्रकाशित: Nov 18, 2021| 20:40 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्