काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजश्व संकलनमा केन्द्रीत भई कर प्रणालिलाई व्यवस्थित बनाउनेतर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
काठमाडौंमा बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको दायरा बढाउनुभन्दा कर संकलनलाई व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका हुन्। अध्यक्ष गोल्छाले सरकार राजश्व संकलनको लागि बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्त दुरुस्त हुन नसकेको बताए। उनले सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसक्दा विकास खर्च बढ्न नसकेको बताए।
अध्यक्ष गोल्छाले सरकारले बजेट निर्माण गर्दा नै आयोजनाहरु छनोटको प्राथमिकता निर्धारण गरि अनावश्यलाई समावेश गर्न नहुने तर्क गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले प्रक्षेपण गरे अनुसार राजश्व संकलन हुन नसकेको बताए। उनले भने, ‘ सरकारले करको दायरा बढाउन बैंकिङ प्रणालीभन्दा बाहिर बसेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीलाई करको दायरामा ल्याउनु पर्छ। करको दायरा बढाउनको लागि प्रशस्त ठाँउ छ। अर्बौं कारोबार हुने घरजग्गा जस्ता अन्य कारोबारलाई करको दायरामा ल्याउनु पर्छ। सरकारले घरजग्गाको कारोबारलाई करको दायरामा ल्याउन नसक्दा जग्गाको मूल्य मौखिक रुपमा नै बढ्दै गएको छ।’
नेपाल उद्योग परिसंघका कार्यकारी अध्यक्ष कृष्णप्रसाद अधिकारीले विगत २४ वर्ष देखि बहुदर प्रणाली लागु गर्न माग गर्दै आएपनि अहिले सम्म लागु हुन नसकेको गुनासो गरे।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कार्यबाहक अध्यक्ष डम्बरदेब अर्यालले सरकारले ग्रामिण उद्योगलाई कर मुक्त क्षेत्रको रुपमा घोषणा गर्ने नीति लिनुपर्ने बताए। ग्रामिण उद्योगलाई कर मुक्त गरे वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम हुदै जाने तर्क उनले गरे।
कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ। यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ। व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा छन्। निर्यात उद्योगमा डाबर नेपाल प्रालिले सबैभन्दा बढी कर बुझाएको छ। विशेष उद्योगमा सबैभन्दा बढी आयकर झाउनेमा एशियन पेन्ट्स रहेको छ।