काठमाडौं– ग्लोबल टेन्डर गरेर छापिँदै आएको अन्तःशुल्क स्टिकर अब सरकार आफैंले छाप्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बुधबार १०औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा टेन्डर आह्वान गरेर छाप्दा पनि विवाद हुने गरेको भन्दै सरकारले नै छाप्ने तयारी गरेको बताए।
करदाताको समस्या सुन्न र तत्काल समाधान गर्न विभागमा इकाइ स्थापना गर्न उनले निर्देशन दिए। करसम्बन्धी मुद्दा राजस्व अनुसन्धान विभागले कति फरफारक गर्यो भन्ने जानकारी तत्काल दिन पनि उनले निर्देशन दिए।
भन्सार विन्दुमा सामान आयात–निर्यात गर्न सहजताका लागि स्क्यान भेइकल राखिने पनि उनले बताए। राजस्व वा कर छली गर्ने व्यक्ति तथा संस्थाको सूचना दिनेलाई पुरस्कार दिने नीति कार्यान्वयन गर्दै लैजाने भन्दै उनले व्यक्तिगत आयकरको ‘स्ल्याब’ बढाउने घोषणा गरे।
फरक प्रसंगमा अर्थमन्त्री शर्माले अब विद्युतीय चुलोमा निर्भर हुनुपर्ने बेला आएको बताए। भने, ‘अब सबैजना विद्युतीय चुलोमा निर्भर हुनुपर्ने बेला आएको छ। स्वदेशी उत्पादनको प्रयोग गरौं,’ उनले भने। उनले विद्युतीय चुलोमा निर्भर बन्ने काम पर्यटन व्यवसायीहरूबाट सुरु गर्न पनि आग्रह गरे।