काठमाडाैं- आर्थिक वर्ष २०७७/७८ मा संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थशमशेर जबराले सबैभन्दा बढी कर तिरेका छन्। आन्तरिक राजस्व विभागले १० औं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार उनीहरुलाई सम्मान गरेको छ। राणा गत वर्ष दोस्रो स्थानमा थिए।
कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सी बढी कर तिरेर सम्मानित भएका छन्। वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भए भने छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ।
जलविद्युत्मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि छन्। व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको विभागले जनाएको छ।