शुक्रबार, असोज १६, २०८३

नागढुंगा सुरुङमार्ग : १८१२ मिटर सुरुङ खनियो

'निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ,' उनले भने। यसअघि नै बनाइएको योजनाअनुसार एक महिना अघि नै हालको जति प्रगति भइसक्नुपर्ने थियो।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- नागढुंगा सुरुङमार्गमा १ हजार ८१२ मिटर सुरुङ खन्ने काम सकिएको छ। यो सँगै आयोजनाको भौतिक प्रगति २३ प्रतिशत पुगेको आयोजना कार्यालयले जानकारी दिएको छ। करिब दुई वर्ष अवधिमा २३ प्रतिशत काम सम्पन्न भएको हो। 

निर्माण सुरु भएको ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्त छ। दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो। अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उनको भनाइ छ। 

'निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ,' उनले भने। यसअघि नै बनाइएको योजनाअनुसार एक महिना अघि नै हालको जति प्रगति भइसक्नुपर्ने थियो। 

गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो। निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको प्रमुख शाक्यले बताए। '४२ महिनाबाट एक दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ,' उनले भने। 

निर्माण कम्पनीले अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढाइरहेको छ। विगतका वर्षमा जग्गा प्राप्ती गर्न केही समस्या देखिएको भएपनि अहिले समाधानको चरणमा रहेको उनले उल्लेख गरे। 

अरु संरचनामा ‘फ्लाई ओभर’को निर्माण सुरु भइसकेको छ। जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिने प्रमुख शाक्यले भने। सुरुङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ। अरु सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ।

'सुरुङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरुङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ,' उनले भने। अहिले निर्माणस्थलमा चार टोली सुरुङ खन्नमा लागेको छ। बाहिर निर्माण गर्ने र भित्र निर्माण गर्ने सहायक कम्पनी छुट्टाछुट्टै भएको र तीनको एकअर्काको काममा कुनै सम्बन्ध नभएको प्रमुख शाक्यले उल्लेख गरे। 

आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको जनाएको छ। धादिङमा ‘अण्डर पास’ सकियो भने काठमाडौँको ‘ओभर पास’ को निर्माण सम्पन्न भएको छ। अहिलेसम्म केही पुल निर्माण सकिएको छ। सिस्नेरी खोलालाई डाइभर्सन भइसकेको छ। स्थानीयवासीलाई पानीको अभाव नहोस् भनेर ट्याङ्की बनाइसकिएको र छिट्टै पाइपलाइन निर्माण गरिनेछ। 

निर्माण कम्पनीले अहिलेसम्म एक हजार ८१२ मिटर खनेको छ। काठमाडौँ जिल्लातर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २८० मिटर गरी मुख्य सुरुङमा ५६३ मिटर खनिएको छ। निकासतर्फ काठमाडौँतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ। धादिङतर्फको ‘बोर्किङ अडिट’ मा १२६ मिटर, क्रस प्यासेजमा ४३ मिटर खनिएको आयोजनाले जनाएको छ। प्राविधिक दृष्टिकोणबाट ५ सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ। 

यस्ता सुरुङमार्गमा हावाका लागि भेन्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ। नेपालमा ५ सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङमार्ग हो। जापान सरकारको ‘सफ्ट लोन’मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ। नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रुपमा हुने जाम हट्ने विभागले जनाएको छ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ। कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ। सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ। निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ। -सञ्चिता घिमिरे/रासस


प्रकाशित: Nov 16, 2021| 17:06 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्