शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंक भन्छ- थोकमा सामान सस्तो भयो, खुद्रामा बढ्यो

राष्ट्र बैंक भन्छ- थोकमा सामान सस्तो भयो, खुद्रामा बढ्यो

नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको बताएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले बताएको हो।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको बताएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले बताएको हो।

वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले मंगलबार असोजमा वार्षिक मुद्रास्फिति (मूल्यवृद्धि) दर ४.२४ प्रतिशत रहेको जानकारी गराएको हो। गत वर्षको असोजमा मुद्रास्फिति दर ३.७९ प्रतिशत रहेको थियो। पछिल्लो समय इन्धनमा भइरहेको मूल्यवृद्धिका कारण सबै क्षेत्रको मूल्यवृद्धि चर्को रहेका बेला राष्ट्र बैंकले समग्र मूल्यवृद्धि दर ४.२४ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार असोज महिनासम्म खाद्य तथा पेय पदार्थ समुहको ३.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समुहको मूल्यवृद्धि दर ४.७२ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

समीक्षा महिना असोजमा घिउ तथा तेलको मूल्य चर्को वृद्धि भएको छ। गत वर्ष असोजको तुलनामा घिउ तथा तेलको मूल्यवृद्धि ३१.६८ प्रतिशतले भएको राष्ट्र बैंकले उल्लेख गरेको छ। त्यस्तै माछा तथा मासुको मूल्य ११.९३ प्रतिशत, दाल तथा गेडागुडीको मूल्य १०.७१ प्रतिशत, सूर्तिजन्य वस्तु तथा गैर मदिराजन्य पेयपदार्थ उपसमूहको मूल्यवृद्धि दर क्रमशः १०.१२ र ९.६३ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

राष्ट्र बैंकका अनुसार यसवर्ष काठमाडौं उपत्यकाको तुलनामा तराईमा बढी मूल्यवृद्धि रहेको उल्लेख गरेको छ।

यस वर्ष असोजमा तराईमा ४.०१ प्रतिशत मूल्यवृद्धि दर रहेको र  काठमाडौंमा ३.४८ प्रतिशत मूल्यवृद्धि दर रहेको राष्ट्र बैंकले उल्लेख गरेको हो। पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि रहेको छ। गत वर्ष असोजमा तराईमा ४.४६ प्रतिशत, काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले थोकमा गत वर्षको तुलनामा मूल्यवृद्धि दर घटेको दावी गरेको छ। यस वर्ष असोजमा थोक मूद्रास्फिति दर ३.८३ प्रतिशत रहेको उल्लेख गरेको राष्ट्र बैंकले गत वर्ष सोही अवधिमा ८.२६ प्रतिशत रहेको दाबी गरेको हो।

पेट्रोलियम पदार्थलगायतका वस्तु भारतबाटै आयात गरेर कारोबार गरिँदै आएका छन्। अधिकांश उपभोग्य वस्तु भारतबाटै आयात भए पनि नेपालमा भारतको तुलनामा मूल्यवृद्धि दर कम रहेको राष्ट्र बैंकको भनाइ छ। गत असोजमा भारतमा ४.४८ प्रतिशत मूल्यवृद्धि दर रहेकोमा नेपालमा ४.२४ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ।


प्रकाशित: Nov 16, 2021| 16:15 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्