शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री देउवाको आग्रह– ग्यास होइन, बिजुली चुलो बालौं

प्रधानमन्त्री देउवाको आग्रह– ग्यास होइन, बिजुली चुलो बालौं

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। 

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा प्रधानमन्त्री देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। उनले विद्युतीय चुलो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए।

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए। उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।

प्रम देउवाले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने? हामीसँग यति बिजुली छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौं, बस चलाउन सक्छौं। हाम्रो चुलो पनि इलेक्ट्रिक हुन सक्छ। काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरु सञ्चालन गरौं। घरमा खाना पकाउने इलेक्ट्रिक चुलो बनाउँ।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन्। उनले भनिन्,‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ। हामी निजी क्षेत्रलाई पनि अनुमति दिन तयार छौं।’

मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन्। विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ।


प्रकाशित: Nov 16, 2021| 13:53 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्