शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्रीले भने– हामीसँग यति बिजुली छ कि ब्याट्रीबाट गाडी चलाउन सक्छौं

प्रधानमन्त्रीले भने– हामीसँग यति बिजुली छ कि ब्याट्रीबाट गाडी चलाउन सक्छौं

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) को १९ र २० औं साधारणसभामा मंगलबार बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौं। बस चलाउन सक्छौं। हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुन सक्छ।’

उनले विद्युतीय चुलो र बस सञ्चालनका लागि उद्यमी र व्यवसायीलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्री प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए। उनले ऊर्जा उत्पादकहरुले लाइसेन्स लिएर पनि काम नगर्ने गरेको बताए। 

उनले भने, ‘काठमाडौंमा कमसेकम ब्याट्रीबाट चल्ने गाडी सञ्चालन गरौं। घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाऊँ। भोली तराई–मधेस सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौं भने नेपाल नमुना बन्न सक्छ। उद्योगपतिहरुलाई के भन्न चाहन्छु भने, तपाईंहरु सुरु गर्नुस्। सरकारले सहुलियत दिन्छ।’ 

‘अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुरा उठिरहेको छ। निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौं भन्ने आधारसहित आएमा हामी अनुमति दिन तयार छौैं।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। निजी क्षेत्रलाई विद्युत् व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन पनि उनले आग्रह गरिन्। मन्त्री भुसालले भनिन्, ‘अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुरा उठिरहेको छ। निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौं भन्ने आधारसहित आएमा हामी अनुमति दिन तयार छौैं।’

मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा  माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्। 


प्रकाशित: Nov 16, 2021| 13:56 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्