काठमाडौं– लोकतन्त्र दिवसको अवसरमा अन्तराल इभेन्टस्ले वैशाख ११ गते रारा म्याराथन गर्ने भएको छ। पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने म्याराथन जुम्लामा समापन हुनेछ।
रारा म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र ‘हाई अल्टिच्युट स्पोर्टस’को विकासमा कोशेढुंगा सावित हुने प्रतियोगिताका संयोजक चक्रबहादुर चन्दले बताए। “प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ,” संयोजक चन्दले भने, “खेलकुद विकास त हाम्रो मुख्य उद्देश्य भइहाल्यो। विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरूलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ।”
अन्तराल इभेन्टले विगत १५ वर्षदेखि खेलकुद, गीतसंगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ।
रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा, कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी आयोजना गरिने अन्तरालकी सञ्चाार अधिकृत स्नेहा केसीले बताइन्।