काठमाडौं- हवाइ भाडामा फेरी वृद्धि भएको छ। नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै दुई सातामै दुई पटक हवाई भाडा वृद्धि भएको हो।
हवाई इन्धनको मूल्य बद्धि भएसँगै फ्युल सरचार्ज बढेकाले आन्तरिक हवाई भाडा वृद्धि गर्नु परेको वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघका अनुसार अधिकतम २२० देखि न्यूनतम २० रुपैयाँ हवाईभाडा वृद्धि भएको छ। नेपाल आयल निगमले गत बुधबार हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरूको छाता संस्थाले आइतबारदेखि मूल्य समायोजन गरेको जनाएको छ।
संघले अधिकतममा काठमाडौं–धनगढीमा २२० र न्यूनतममा डोटी–साँफेबगरमा २० रुपैयाँ भाडा वृद्धि भएको जनाएको छ। गत बुधबारमात्र निगमले साविकको मूल्यमा ५ रुपैयाँ वृद्धि गर्दै आन्तरिकमा १ सय १ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ८ सय ९५ अमेरिकन डलर प्रतिकिलोलिटर हवाई इन्धनमा मूल्य समायोजन गर्दै वृद्धि गरेको थियो।
यसअघि निगमले ८६ रुपैयाँ प्रतिलिटर पर्ने हवाई इन्धनको मूल्यमा १० रुपैयाँ वृद्धि गर्दै ९६ रुपैयाँ पुर्याएको थियो। सोहीबमोजिम संघले मूल्य समायोजन गर्दै कात्तिक १६ मा आन्तरिक हवाई उडानमा अधिकतम काठमाडौं–धनगढी ४ सय ४० रूपैयाँ र कममा डोटी–साँफेबगरमा ४५ रुपैयाँ भाडा बढाएको थियो।