काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ। नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो। सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ।
निगम प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताइन्। सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उहाँको भनाइ छ।
टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ। टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ।
यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यू तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो। गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ।
१ काठमाडौँ–बैंकक–सोल : नेपाल एयरलाइन्स–थाइ एयरवेज
२ काठमाडौँ–बैंकक–सिड्नी : नेपाल एयरलाइन्स–थाइ एयरवेज
३ काठमाडौँ–बैंकक–टोक्यो : नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
४ काठमाडौँ–दोहा–कुवेत : नेपाल एयरलाइन्स–कुवेत एयरवेज
५ काठमाडौँ–दुबई–कुवेत : नेपाल एयरलाइन्स–कुवेत एयरवेज
६ काठमाडौँ–दुबई–जुरिच : नेपाल एयरलाइन्स–इमिरेट्स
७ काठमाडौँ–दुबई–लण्डन : नेपाल एयरलाइन्स–इमिरेट्स
८ काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट : नेपाल एयरलाइन्स–इमिरेट्स
९ काठमाडौँ–दुबई–पेरिस :नेपाल एयरलाइन्स–इमिरेट्स
१० काठमाडौँ–दुबई–बहराइन :नेपाल एयरलाइन्स–इमिरेट्स