काठमाडौं- कात्तिक महिनामा मात्र वाणिज्य बैंकहरूबाट ३१ अर्ब रुपैयाँ निक्षेप घटेको छ। असोज ३१ गते वाणिज्य बैंकहरूसँग ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। तर कात्तिक १७ गतेसम्ममा उक्त निक्षेप घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको हो।
कात्तिकको पहिलो साता वाणिज्य बैंकहरुबाट २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने दोस्रो साता २ अर्ब र तेस्रो साता ९ अर्ब रुपैयाँ बाहिरिएको छ।
वाणिज्य बैंकहरूले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याएपनि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी ब्याजदर एकल अंकमा कायम गर्न निर्देशन दिएको थियो। यसपछि वाणिज्य बैंकहरुले ब्याजदर ९.३६ कायम गरेका थिए। तर वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर कम गरेपछि निक्षेप घटेको हो।
कात्तिकमा कर्जाको मागमा भने वृद्धि भएको छ। कात्तिक महिनाको १७ दिनमा मात्र वाणिज्य बैंकहरुबाट २७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको बैंकर्स एसोसिएसनले जनाएको छ।
वाणिज्य बैंकहरुसँग तरलता अभाव हुँदा वाणिज्य बैंकहरूले कर्जा प्रवाह रोकेका छन्। कर्जा प्रवाह रोकेपनि पहिले नै प्रतिवद्धता व्यक्त गरिएका कर्जाको हकमा भने बैंकहरुले सानो रकम कर्जा प्रवाह गरिरहेको नेपाल बैंकर्स संघले जनाएको छ।
केही बैंकहरुले पहिले निक्षेपमा धेरै ब्याज दिएर संकलन गरेको रकम तरलताको मौका छोपी कर्जामा लगाइरहेको संघको भनाइ छ।