काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक भाषणहरूमा प्रतिमहिना १० प्रतिशतका दरले खर्च गर्ने बताउँछन्। कर्मचारीलाई निर्देशन पनि यस्तै प्रकृतिका दिन्छन्। तर पुँजीगत खर्चको गति हेर्ने हो भने आफ्नै भाषणले मन्त्री शर्मालाई 'खिसिट्युरी' गरिरहेको छ।
चालु आर्थिक वर्षका चार महिना बित्न केही दिन मात्र बाँकी छँदासम्मको पुँजीगत खर्चको तथ्यांक हेर्ने हो भने अर्थमन्त्री शर्माको बोली र व्यवहारको अन्तर छर्लंग हुन्छ।
यो चार महिनाको अवधिसम्म सरकारको पुँजीगत खर्च जम्मा ४.५७ प्रतिशत मात्र गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार कार्तिक २३ गतेसम्ममा सरकारको जम्मा २० अर्ब ९ करोड ९० लाख रुपैयाँ मात्र खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षको लागि पुँजीगत खर्च ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपैयाँ छुट्याएको छ।