शुक्रबार, असोज १६, २०८३

तिहारमा १५ करोडभन्दा बढीको फूल कारोबार

यस वर्षको तिहारमा १५ करोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- यस वर्षको तिहारमा १५ करोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ। कारोबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल १२ करोड ७० लाख ५० हजार, मखमली एक करोड ६७ लाख ७५ हजार, गोदावरी ५२ लाख ५० हजारको कारोबार भएको छ। ३० लाखको मखमली विभिन्न देशमा निर्यात भएको बताइएको छ।  

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार बजारमा १८ लाख ५० हजार मालाको माग भए पनि मागभन्दा बढी २१ लाख माला खपत भएको हो। उनका अनुसार गत वर्ष रु १३ करोड मूल्यको १६ लाख मालाको कारोबार भएको थियो । 

तिहार सुरु हुनुभन्दा २० दिनअगावै गैर पुष्प व्यवसायीले समन्वयविना नै ठूलोमात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भएकाले नेपाली उत्पादनले बजार नपाई करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पनि अध्यक्ष तामाङले गुनासो गरे।  

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ। हाल स्वदेशमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन्। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले फूलको खेती गर्दै आएका छन्।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।


प्रकाशित: Nov 10, 2021| 20:58 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्