काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २० गते भन्सार विभागका कर्मचारीसँग भएको भनाभनका विषयमा सरकारले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीसँग स्पष्टीकरण माग गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले डा रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिँदै स्पष्टीकरण माग गरेको हो।
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो।
कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो। सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा रेग्मीलाई मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे जानकारी लिएको मन्त्रालय स्रोतले बताएको छ।
दुवै पक्षको जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग लिखित स्पष्टीकरण दिन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
यता बोर्डले भने डा रेग्मीले भन्सारका कर्मचारीमाथि कुटपिट गरेको समाचार तथ्यहीन भएको दाबी गरेको छ।