काठमाडौं- दसैतिहारको समयमा नेपालमा प्रतिदिन ४० किलोसम्म सुनको व्यापार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्यले यसवर्ष सुनचाँदीको कारोबार बढेको उल्लेख गर्दै चाडबाडका बेला प्रदिदिन १ हजार किलोसम्म चाँदीको कारोबार भएको बताएका हुन्।
उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडबाडमा अपेक्षाअनुसारकै व्यापार भएको उल्लेख गरे। 'चाडबाडका बेला प्रतिदिन ४० किलो सुन र १ हजार किलोसम्म चाँदीको व्यापार भएको छ,' उनले भने।
चाडबाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए। मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा उनी आशावादी छन्। शाक्यले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको उल्लेख गरे।
‘धन्वन्तरी जयन्तीका दिन लगभग ५० किलोको हाराहारीमा माग आएको थियो। चाँदीको कुरा गर्दा प्रतिदिन १ हजार किलो हाराहारीमा माग आएको थियो। धन्वन्तरी जयन्तीका तिहारमा २ हजार केजीसम्म चाँदीको माग आएको थियो। यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रह्यो। सुनचाँदीको गरगहना नै उपभोक्ताको रोजाइमा परेका छन्। तिहारको बेला सुनको असर्फीहरु, गणेशलक्ष्मीको मूर्तिहरु र विभिन्न किसिमको गरगहनामा उहाँहरुको माग बढेको छ। कोहीले काँचो सुन पनि माग्नुभएको थियो। हामीले गरगहना बनाउने डिमाण्डलाई सुन नपुगेकाले काँचो सुन उपलब्ध गराउन सकेका छैनौँ,’ उनले भने।
अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाई (वितरण)को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए। उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाई (वितरण)लाई पनि काठमाडौँमा केन्द्रित नगरी सातै प्रदेशको राजधानीमार्फत् वितरण हुनुपर्ने उल्लेख गरे।
अध्यक्ष शाक्यले आपूर्तिको प्रतिदिन २० किलोको सीमालाई बढाएर प्रतिदिन ३० किलोसम्म पुर्याउनुपर्ने उल्लेख गरे।