शुक्रबार, वैशाख ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'ताम्राकार परिवारका चार सदस्यलाई हेर्दाहेर्दै आगाेले निल्यो'

'ताम्राकार परिवारका चार सदस्यलाई हेर्दाहेर्दै आगाेले निल्यो'

सबै जना हामफाल्न सकेनन्। हामफालेकाचाहिँ बच्न सफल भए। तर परिवारका चार सदस्य भने म्हः पूजा गर्दा गर्दै संसारबाट सदाका लागि बिदा भए।
 |  सोमबार, कात्तिक २२, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, कात्तिक २२, २०७८

vianetvianet

काठमाडौं– आइतबार मध्याह्न। पशुपति आर्यघाटमा उभिएका सयौं अनुहार मलीन थिए। आँसुले सबैको गह भरिएको थियो। बागमती किनारामा लहरै राखिएका थिए चार शव। आफन्त अन्तिम संस्कारको तयारीमा थिए। चारै शवमा पालैपालो अबिर र फूल चढाउँदै रामनामी जपिरहेका थिए। र, कामना गर्दै थिए दिवंगत आफन्तको स्वर्गवास होस्। 

triton college

मृत्यु शाश्वत हो। तर यो कसैका लागि प्रिय छैन। परिवारका चारै सदस्य एकपटक गुमाउनुपर्दाको पीडा त असह्य हुने नै भयो। यस्तै भएको थियो ललितपुर मंगलबजारका लक्ष्मीकृष्ण ताम्राकारको परिवारलाई पनि। 

गत शुक्रबार ललितपुरको मंगलबजार नजिकै चक्रबहीको एक घरमा लक्ष्मीकृष्ण ताम्राकारको परिवार म्हः पूजा मनाउन व्यस्त थियो। दिनभरको किनमेल र तयारी अनि साँझ परेपछि म्हः पूजा। साँझ परेपछि लक्ष्मीकृष्णको परिवार दीपावलीसँगै पूजामा सहभागी भयो। 

मंगलबजारको एउटा साँघुरो गल्ली। चारतले पुरानो घर। आगन, भुइँतला, दोस्रो तला हुँदै उनीहरू दियो बाल्दै तेस्रो तलामा पुगे। त्यहाँ पनि झिलिमिली पारेर माथिल्लो तलामा उक्लिए। विधिको विधान के थाहा? त्यही झिलिमिली केही बेरमै कालरात्रि बन्न पुग्छ भन्ने!

तेस्रो तलाको झ्यालमा राखेको दियोले पर्दामा टिप्यो। आगो दन्दनी दन्किन थाल्यो। उनीहरू पूजामा व्यस्त थिए। आगो सल्किएको पत्तै भएन। आगो भान्सासम्म पुग्यो। भान्सामा रहेको ग्यास सिलिन्डर ठूलो आवाजमा विस्फोट भएपछि बल्ल थाहा पाए। यति बेलासम्म आगो निकै फैलिइसकेको थियो। उनीहरुसँग दुई विकल्प थियो– आगामै जल्ने या हामफाल्ने।सबै जना हामफाल्न सकेनन्। हामफालेकाचाहिँ बच्न सफल भए। तर परिवारका चार सदस्य भने म्हः पूजा गर्दा गर्दै संसारबाट सदाका लागि बिदा भए।

National life insurance
बम पड्किएको आवाज आयो। पुरानो काठको घर भएकाले आगोले एकै छिनमा घर घेर्‍यो। आगोको घेरामा परेका उहाँहरूले बाँचेर ज्यान जोगाउन सक्नु भएन। 

आगलागीमा परी ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अञ्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भयो। परिवारका दुई सदस्य ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी सिर्जना ताम्राकार भने हाम्फालेर बाँच्न सफल भए। उनीहरूको उपचार भइरहेको छ।

सिलिन्डर पड्किँदा लक्ष्मीकृष्णका छिमेकी सुरेश महर्जन घरकै कौसीमा थिए। उनी भन्छन्, ‘घर हल्लिएझैं लाग्यो। हेर्दा त छिमेकीको घरमा आगो दन्किरहेको देखें।’ आगोको लप्का देखेपछि आफू निकै आत्तिएको उनी बताउँछन्।

‘बम पड्किएको आवाज आयो। पुरानो काठको घर भएकाले आगोले एकै छिनमा घर घेर्‍यो। आगोको घेरामा परेका उहाँहरूले बाँचेर ज्यान जोगाउन सक्नु भएन। हेर्दाहेर्दै ताम्राकार परिवारका चार सदस्यलाई आगाेले निल्यो', महर्जनले भने। 

महर्जन चाहेर केही गर्न नसक्ने गरी आगो दन्किएको बताउँछन्। ‘उहाँहरू एकदम असल मान्छे हुनुहुन्थ्यो। सहयोगी हुनुहुन्थ्यो। हामीले राम्रो छिमेकी गुमाएका छौं’, महर्जनले भने। उनी बचेकाहरूको जीविकोपार्जन र बालबच्चाको रेखदेखका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँछन्। ‘एकै पटक परिवारका चार जनाले ज्यान गुमाएका छन्। यो निकै दुःखद घटना हो। सरकारले बाँचेकाहरूका लागि केही गरिदिओस्’, उनको आग्रह छ।

अर्का छिमेकी विनोद महर्जनका आँखा पनि अझै ओभाएका छैनन्। उनी पनि म्हः पूर्जा गर्दै थिए। ‘हामी पूजा गर्न व्यस्त थियौं। त्यही बेला यस्तो दुःखद घटना भयो’, उनी सम्झन्छन्।

आइतबार उनीहरूको पशुपतिस्थित आर्यघाटमा सामूहिक अन्तिम संस्कार गरिएको छ। अन्त्येष्टि समारोहमा ठूलो संख्यामा आफन्त र छिमेकीको उपस्थिति थियो।

प्रकाशित: Nov 08, 2021| 07:50 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।