शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार महिनापछि नेपाल एयरलाइन्सको नियमित कामकारबाही सञ्चालनमा

चार महिनापछि नेपाल एयरलाइन्सको नियमित कामकारबाही सञ्चालनमा

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कारबाही सञ्चालनमा आएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कारबाही सञ्चालनमा आएको छ। गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए। निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन्। परिणामस्वरुप निगमको कार्यकारी समितिको बैठक असार २९ गतेदेखि र निगम सञ्चालक समितिको बैठक असार ३१ गतेदेखि बस्न सकेको थिएन।

कात्तिक ११ गते सरकारले निगमकै पूर्वनिर्देशक युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको थियो। कार्यकारी अध्यक्ष अधिकारी र संयुक्त ट्रेड युनियनसँगको संवादबाट सृजित सहकार्य पश्चात कात्तिक १४ गते निगमको कार्यकारी समितिको बैठक बसी महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयनमा आएको निगमले जनाएको छ।

त्यस्तै कात्तिक १७ गते सञ्चालक समितिको बैठक बसी सञ्चालक समितिले निगमको लागि तत्काल अति आवश्यक मानिएको विषयमा नीतिगत निर्णयसहितको गतिशिलता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ। निगमको सञ्चालक समितिको निर्णय निगमको कार्यसञ्चालनका लागि अति आवश्यक हुने र उक्त निर्णयले विभागीय कार्यसञ्चालन जस्ता महत्त्वपूर्ण विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

प्रकाशित: Nov 05, 2021| 18:55 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्