शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दाना पनि खाने, सवारी पनि बोक्ने बजेट ल्याएका छौं : गृहमन्त्री खाँण

दाना पनि खाने, सवारी पनि बोक्ने बजेट ल्याएका छौं : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा विकासका बजेट कटौती भएको बताएका छन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा विकास बजेट कटौती भएको बताएका छन्।तिहार मनाउन गृहजिल्ला रुपन्देही आएका खाँणले शुक्रवार तिलोत्तमा गौशालामा आयोजित पूजालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आफूहरूले वर्तमान सरकारले यथार्थ बजेट आएको बताए। 

रुपन्देहीमा विकास बजेट कटौती भएको भन्दै प्रश्न उठेपछि गृहमन्त्री खाँणले पूर्ववर्ती सरकारले कागजी घोडा भएको बजेट ल्याउँदा समस्या भएको बताएका हुन। उनले श्रोतको व्यवस्थापन नगरी सेतो कागजमा मसीले लेखेर मात्रै नहुने बताए। ‘अहिले विदेशी सहयोग पनि आएको छैन, एमसीसीबाट बजेट ल्याउन पनि सकिएको छैन,’ उनले भने, ‘पूर्ववर्ती सरकारले बजेट कागजको घोडा हो। दाना पनि खाँदैन, सवारी पनि बोक्दैन, त्यसैले हामीले दाना पनि खाने, सवारी पनि बोक्ने बजेट ल्याएका हौं।’

उनले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमाले आफैँले ल्याएको बजेट पारित गर्नमा समेत अवरोध गरेको बताए। एमसीसी पारित गर्ने सवालमा प्रमुख विपक्षी एमालेको दोहोरो भूमिका देखिएको आरोप लगाए। ‘एक जनासँग पास गरिदिन्छु भन्दिनुहुन्छ, अर्कोसँग हुँदैन भन्नुहुन्छ,’ उनले भने।

पुरानो सरकारको निरन्तरता नै अहिलेको सरकारले गर्न खोज्दा समेत अवरोध गरेको टिप्पणी गरे। उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले रुपन्देहीका ठुला आयोजनाको बजेट कटौती गरिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

गृहमन्त्री खाँण शुक्रबार गोवर्द्धनपूजाका लागि देवदह भलुहीस्थित कामधेनु गौशालामा समेत पुगेका थिए। उनले त्यहाँ पूजापछि नेपालको गौ संरक्षण अनुसन्धानको केन्द्र निर्माणका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए। उक्त अवसरमा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, देवदह नगरपालिकाका नगरप्रमुख हिरा केसीलगायतले बोल्दै गाईको संरक्षण गर्नुपर्ने बताएका थिए। 

प्रकाशित: Nov 05, 2021| 17:20 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्