काठमाडौं– नेपाल आयल लिगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेको छ। बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले यस्तो आग्रह गरेका हुन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले त्यसैको प्रभावस्वरुप नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको कार्यकारी निर्देशक पौडेलको भनाइ थियो।
‘अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वाभाविक हो’, उनले भने, ‘नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरी राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको सुहाएन।’
‘यो १०० प्रतिशत स्वाभाविक हो। यो स्वाभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नै पर्दैन, बजारमा लिक्विडिटी अभावको स्थिति हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्।’
अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको कार्यकारी निर्देशक पौडेलको दाबी छ। उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको भन्दै आगामी दुई वर्षसम्म तेलको मूल्यमा उतारचढाव हुन सक्ने बताए।
‘यो सरकारी संस्था हो, अस्वाभाविक हुँदैन, सबै चिज पारदर्शी नै हुन्छ। अस्वाभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो’, उनले भने, ‘यो १०० प्रतिशत स्वाभाविक हो। यो स्वाभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नै पर्दैन, बजारमा लिक्विडिटी अभावको स्थिति हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्।’
उनले तेल राजनीतिक विषय नभएको र सार्वजनिक विषय रहेको दाबी गरे। ‘सरकारले सबै चिज सित्तैंमा बाँड्नुपर्छ भन्ने हुन्छ कहीँ?’ उनले प्रश्न गर्दै भने, ‘यही चिज प्राइभेटमा भएको भए कोही बोल्दैन थिए, आजको दिनमा राजनीति गर्ने एउटै चिज छ, त्यो भनेको तेल हो।’
आगामी दिनमा कच्चा तलेको मूल्य १०० डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने पौडेलको भनाइ छ। कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि घाटामा रहेको बताए। उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो दुई वर्षमा १७÷१८ रुपैयाँ घटाएको बताए।