काठमाडौं– नेपाल राष्ट्र बैंकले जिएमई पे प्राइभेट लिमिटेडको अनुमति खारेज गरेको छ।
कम्पनीले कारोबारको लागि अनुमतिपत्र प्राप्त गरेको ६ महिना बितिसक्दा पनि सञ्चालन नगरेको भन्दै केन्द्रीय बैंकले सो कम्पनीको अनुमतिपत्र खारेज गरेको हो। कम्पनीले २०७७ असोज २२ गते कारोबारको लागि अनुमति प्राप्त गरेको थियो।
राष्ट्र बैंकले ६ महिनामा पनि सेवा सञ्चालन नगरेको भन्दै सञ्चालनका लागि पत्र पठाएको थियो। कम्पनीले कोरोनाका कारण सेवा सञ्चालन गर्न नसकेको भन्दै तीन महिनाको लागि समयावधि थप गर्न आग्रह गरेको थियो। कम्पनीको आग्रह अनुसार केन्द्रीय बैंकले थप ६ महिनाको समय दिएको थियो। तर पनि कम्पनीले सेवा सञ्चालन गर्न नसकेपछि खारेजीमा परेको हो।
राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्योट विनियावली २०७७’ को विनियम ३५ को (क)को व्यवस्था अनुसार कम्पनी खारेज गरेको हो। सो व्यवस्थामा संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र सेवा सञ्चालन नगरेमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र स्वतः खारेज हुने उल्लेख छ।