शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो, कहाँसम्म पुग्ला?

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो, कहाँसम्म पुग्ला?

भारतमा इन्धनको कारोबार गर्दै आएको इण्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पनि प्रत्येक १५ दिनको अन्तरमा नयाँ नयाँ मूल्यसूची पठाउँदै आएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं– नेपाल आयल निगमले गत शुक्रबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर ३–३ रुपैयाँका दरले मूल्य बढाउँदै पेट्रोलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम गरेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रुपैयाँका दरले बढाउँदै १५०० रुपैयाँ पुर्याएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको प्रभावस्वरुप मूल्य बढाइएको निगमले जानकारी दिएको छ। भारतले विभिन्न खाडी मुलुकहरुबाट खरिद गरेर प्रशोधन गरेपछि इन्धनको कारोबार गर्दै आएको छ। नेपालले पनि भारतबाटै इन्धनको आपूर्ति गर्दै आएको छ।

भारतमा इन्धनको कारोबार गर्दै आएको इण्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पनि प्रत्येक १५ दिनको अन्तरमा नयाँ नयाँ मूल्यसूची पठाउँदै आएको छ। गत अक्टोबर १६ तारिखमा आएको मूल्यसूची अनुसार निगमले गत शुक्रबार मूल्य बढाएको थियो। पछिल्लो समय फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आईओसीले सोमबार अर्थात नोभेम्बर १ तारिखमा फेरि नयाँ मूल्य सूची पठाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ४२ पैसा, डिजेलमा ३ रुपैयाँ ९२ पैसा प्रतिलिटर बढेर आएको निगमले जानकारी दिएको छ। निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार मटीतेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ ४९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ११ पैसा र एलपी ग्यासमा २४६ रुपैयाँ ९७ पैसा बढेर आएको छ।

इन्धनमा नेपाल सरकारले लगाएका विभिन्न शिर्षकका करहरुका कारण अहिले पेट्रोलको खरिद मूल्य १५३ रुपैयाँ ४ पैसा परिरहेको निगमले जानकारी दिएको छ। पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४ पैसा घाटा भइरहेको निगमले सोमबार जारी गरेको विज्ञिप्तमा उल्लेख गरिएको छ।

त्यस्तै डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ६२ पैसा घाटा भइरहेको निगमको दावी छ। त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा १ पैसा घाटा, एलपी ग्यासमा ७२१ रुपैयाँ ६९ पैसा घाटा रहेको छ। 

निगमलाई अहिले मटीतेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्रै नाफा भइरहेको छ। मटीतेलमा प्रतिलिटर १३ रुपैयाँ ५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा १४ रुपैयाँ ६२ पैसा प्रतिलिटर नाफा रहेपनि अन्य इन्धनको तुलनामा ती इन्धनको बिक्री न्यून रहेकाले घाटा पूर्ति हुन नसक्ने निगमको भनाइ छ। पछिल्लो समय आएको नयाँ मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ३ अर्ब २ करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ।

कहाँसम्म पुग्ला कच्चा तेलको भाउ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा एक वर्षको अवधिमा कच्चा तेलको मूल्य करिब दोब्बरले वृद्धि भएको स्वीकार गरिएको छ। गत वर्ष भदौ मसान्तमा प्रतिब्यारेल ४१.२३ डलरका दरले रहेको कच्चा तेलको मूल्य गत भदौ मसान्तमा ७५.१४ डलर प्रतिब्यारेल पुगेको थियो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८४.९० डलर सम्म पुगेकमो छ।

नेपाल आयल निगमले पछिल्लो समय निरन्तर बढिरहेको कच्चा पदार्थको मूल्य कहाँसम्म पुग्ला अनुमान गर्न नसकिने प्रतिक्रिया दिएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्याय चिसोको समयमा इन्धनको माग बढेका कारण कच्चा तेलको मूल्य वृद्धि भएपनि कहाँसम्म पुग्ने अनुमान गर्न नसकिने बताउँछन्।

‘सामान्य अवस्थामा जाडो महिनामा पेट्रोलियम पदार्थको खपत बढ्छ। खपत अनुपातमा आपूर्ति हुन सक्दैन। माग अनुसार आपूर्ति हुन नसक्दा अक्टोबर, नोभेम्बरदेखि जनवरीसम्म अलि माथि नै मूल्य पुगेको हुन्छ,’ निगम प्रवक्ता उपाध्याय भन्छन्, ‘पछिल्लो तीन महिनामा जुन हिसाबले बढेको छ। विगतको तुलनामा अलि तीव्र नै भयो। विगतमा चिसोपछि अलि घट्ने  गरेको थियो। यसपालि ठ्याक्कै आँकलन गर्नसक्ने स्थिति छैन।’

विश्व बजारमा कच्चा तेलको माग करिब करिब कोरोना भन्दा पहिलेकै अवस्थामा पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। माग बढेका कारण तेल उत्पादक मुलुकहरुले कच्चा तेलको मूल्य वृद्धि गरेका छन्। विशेष गरी कच्चा तेलकै बिक्रीमा निर्भर अर्थतन्त्र भएका मुलुकहरु भएका कारण पछिल्लो समय माग बढेको मौकामा मूल्य कच्चा तेलको मूल्य वृद्धि गरेको हुनसक्ने कतिपयको अनुमान छ।

कोभिडको समयमा कच्चा तेलको माग घट्दा कच्चा तेलको मूल्य १८ डलरसम्म झरेको थियो। सोही नोक्सान पूर्ति गर्ने हिसावले पनि माग बढेको मौका हेरेर कच्चा तेलको मूल्य तीव्र रुपमा वृद्धि गरेको हुनसक्ने विश्लेषणहरु भइरहेका छन्। ‘तत्काल कच्चा तेलको मूल्य घट्छ भन्ने कुनैपनि संकेत देखिएको छैन,’ प्रवक्ता उपाध्याय थप्छन्, ‘सामान्य अवस्थाको कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अलिकति बढ्ने हो। अरु बेला अलिकति नर्मल अवस्थामा आउने हुन्थ्यो।’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री कोइलाको प्रयोग घटाउने विश्व रणानीतिको असर कच्चा तेलमा परेको हुनसक्ने अनुमान गर्छन्। ‘संसारभरि कोइलाको प्रयोग घटाउने भन्दै त्यस क्षेत्रमा बैंक वित्तीय संस्थाहरुले लगानी नगर्ने भनिएको छ,’ क्षत्री भन्छन्, ‘स्वभाविक रुपले त्यसबाट हुनजाने नोक्सानी त खनिज अर्थात विशेषगरी पेट्रोलियम उत्पादनतिर हुन्छ।’

कोइलाको प्रयोग घटाउने भएपछि कच्चा तेलको उपभोग तथा माग बढेको र फलस्वरुप मूल्य बढेको हुनसक्ने क्षत्रीको भनाइ छ। ‘माग बढ्ने अर्थशास्त्रको नियम अनुसार मूल्य बढ्ने स्वाभाविक रुपले आउँछ। कोइलाको विकल्प विद्युत भएपनि विद्युतलाई भनेजस्तै सजिलै बढाउने वा घटाउने मिल्दैन। समय लाग्छ,’ क्षत्री भन्छन्, ‘त्यसो भएकाले पेट्रोलियम पदार्थको मूल्यमा चाप परेको हुनसक्छ।’

पेट्रोलियम पदार्थको भएको मूल्य वृद्धिले सम्पूर्ण ढुवानीदेखि  यातायातका साधन सबैमा प्रतिकूल प्रभाव पर्ने भएकाले अर्थतन्त्रलाई लागतउन्मुख बनाइरहेको क्षत्रीको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरसम्म पुग्न सकने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन्। \

भारतीय पत्रिका दैनिक भास्करले विश्लेषक ब्रोकरेज हाउस गोल्डम्यानलाई उद्धृत गर्दै सन २०२२ जनवरी सम्म ११० डलर प्रतिब्यारेल कच्चा तेलको मूल्य पुग्नसक्ने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको माग करिब करिब कोरोना महामारी हुनुपूर्वको अवस्थामा पुगेकाले सन २०२२ सम्म कच्चा तेलको माग झन् बढ्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन्।

प्रकाशित: Nov 03, 2021| 14:20 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्