शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालले पायो विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

नेपालले पायो विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तर्देशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिक्री  अनुमति दिएको हो।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो।

दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ। प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ। हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन्। 

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ। प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो। निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन्। ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो’, उनले भने। 

प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरिएकोका मन्त्री भुसालले बताइन्। दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलेको अवस्थासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारवाला निकाय धन्यवादको पात्र भएको उनले बताइन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए। नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ। 

उनले भने, ‘विद्युत् निर्यातको सुरुआत थोरै परिमाणबाट भए पनि चाडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ।’ उनले विद्युत् व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्ने छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ। विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ। 

प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुने छ। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्ने छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ। 

प्रकाशित: Nov 03, 2021| 08:20 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्