काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तामा हवाइ प्रवेश बिन्दुको विषयमा कुराकानी गरेका छन्। स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप-२६ का क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भएको साइडलाइन भेटवार्तामा हवाइ प्रवेश बिन्दुका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
नेपालले नेपालगञ्ज र महेन्द्रनगरबाट हवाइजहाज खुलाइदिन आग्रह गर्दै आएको छ। तर भारतले भने अध्ययनकै क्रममा रहेको भन्दै कुनै ठोस निर्णय दिएको छैन। भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि यी प्रवेशबिन्दु महत्वपूर्ण मानिएका छन्।
यस्तै मोदीसँगको साइडलाइन वार्तामा रासायनिक मलको विषय पनि उठाइएको मन्त्रालयको भनाइ छ। नेपालमा प्रत्येक वर्ष मलको अभाव हुने गरेको छ। तर पनि सरकारले मलको दिगो व्यवस्थापन गर्न सकेको छैन। नेपालमा मलको आपूर्तिका लागि सहयोग गर्न नेपालले भारतीय पक्षसँग कुराकानी गरेको बताइएको छ।
यसैगरी, कोभिड व्यवस्थापनलगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ। नेपालले राखेका प्रस्तावमा भारतले सकारात्मक जवाफ दिएको परराष्ट्रको भनाइ छ।
दिगो विकासका लागि सँगै मिलेर काम गर्न महत्वपूर्ण भएको विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी गराएका छन्। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम सिर्जना गर्ने विषयमा जोड दिएको बताएका छन्।
दुई नेताबीच करिब चार वर्षपछि भेटवार्ता भएको हो। दुबै मुलुकबीचको सम्बन्धका बुझाईमा फरकपना देखिएको समयमा भएको यो भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ। यसअघि चौथोपटक प्रधानमन्त्री भएको बेला देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा समकक्षीको रुपमा मोदीसँग भेट गरेका थिए।
अघिल्लो सरकारको समयदेखि नै भारतसँगको सम्बन्धमा आएको तिक्तता अझै बाँकी रहेको र सोमबार भएको भेटले द्विपक्षीय सम्बन्धमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।