काठमाडौं- स्टिल उद्योगका लागि चाहिने बिलेट र स्पन्ज आइरनबाट मात्र सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा १२ अर्ब ७५ करोड ७ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६६.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा २८ वटा कम्पनीले ७ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको बिलेट तथा स्पन्ज आयात गरेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।
त्यस्तै दर्ता भएका ३ वटा स्टिल उद्योग सञ्चालनमा नआएका कारण उनीहरुले भने स्पन्ज र बिलेट आयात गरेका छैनन्। नेपाल स्टिल उद्योग उद्योग संघका अनुसार सालिमार स्टिल्स प्रालि, जय बागेश्वरी प्रा.लि र सार्वोत्तम स्टिल्स प्रालि भने नयाँ दर्ता भएकोले उनीहरूले गत आर्थिक वर्षमा बिलेट तथा स्पन्ज आयात गरेका छैनन्।
उद्योगीहरुका अनुसार अघिल्लो आर्थिक वर्षको चैतदेखि कोभिड-१९ का कारण देशमा लकडाउन सुरु भयो। तर गत आर्थिक वर्षको सुरुदेखि नै लकडाउन खुकुलो भएकोले उद्योगी व्यापारीहरूले सामान आयात गर्न पाएकोले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा स्पन्ज तथा बिलेट आयातमा वृद्धि भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले चालु आर्थिक वर्षमा सरकारले बिलेट आयातमा भन्सार नघटाउने र स्पन्ज आइरनको आयातमा भन्सार र अन्तशुल्क दर शून्य बनाउँदा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बिलेटको आयात घटेको छ भने स्पन्ज आइरनको आयातमा वृद्धि भएको जानकारी दिए।
उनका अनुसार वीरगञ्ज नाकाबाट मात्र पछिल्लो २ महिनामा एक लाख मेट्रिक टन स्पन्ज आइरन आयात भइसकेको छ। ‘सरकारले स्पन्ज आइरनमा भन्सार र अन्तशुल्क दर शून्य बनाएको छ। तर बिलेटको भन्सार दर यथावत छ भने अन्तशुल्क ०.८५ प्रतिशतले बढाएको छ। यसकारण स्पन्ज आइरनबाट स्टिल्स उत्पादन गर्नेहरुसँग बिलेटबाट स्टिल उत्पादन गर्नेहरुले प्रतिस्पर्धा गर्न नसकेकोले पछिल्लो समयमा बिलेटको आयातमा कमी आएको छ,’ उनले भने।