शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५० प्रतिशतभन्दा बढी कर्जा आयातमा खर्च हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या : गभर्नर

५० प्रतिशतभन्दा बढी कर्जा आयातमा खर्च हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या : गभर्नर

नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी मात्रामा आयातित वस्तुमा ऋण प्रवाह हुँदा सो समस्या देखिएको प्रष्टयाएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव: कारण र समाधान’ विषयक अन्तक्रियामा बोल्दै उनले कोभिडका कारण रेमिट्यान्स घटनु, ऋण प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताए। 

गभर्नर अधिकारीले भने, ‘नेशनल पोलिटिक्सको पनि असर भयो। सरकार चेन्ज भयो। सरकार चेन्ज भएपछि बजेटमा पुनर्विचार भयो। पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन। यसको असर पनि तरलतामा पर्‍यो। तर पछिल्लो दिनमा खर्च भएको अवस्था छ। ऋण जानु विजनेशका लागि ठिकै छ। तर हामी कहाँ समस्या के भयो भन्दा हाम्रो ऋणको रिलेसनसिप सरसर्ती हेर्दा हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी आयातको वृद्धिमा गाँसिएको देखिन्छ।’

गभर्नर अधिकारीले उत्पादनमुलक क्षेत्रमा ऋण प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका छन्। उनले सस्तो ब्याजदरमा ऋण दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पारेका छन्। 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताएका छन्। उनले ब्याजदर बढ्नुले साना उद्यमी, व्यवसायीहरुको पुनर्उत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासो  समेत गरे।

२०७६ चैतदेखि कात्तिकसम्म कर्जाको माग खासै नभएपनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो। २०७६ साल चैतदेखि हालसम्म १२ खर्व ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ। तर सोही अनुपातमा निक्षेप संकलन नभएको गर्भनर अधिकारले स्पष्ट पारे।

प्रकाशित: Nov 01, 2021| 21:00 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्