काठमाडौं- १४ औं गोदावरी फूल प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो। यस्तै, अवलोकनकर्ताको सहभागिता पनि उत्साहजनक नै देखिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणी शर्मा जानकारी दिए। उनले भने, 'अवलोकनकर्ता र कारोबारको हिसाबमा प्रदर्शनी आशा गरेको भन्दा धेरै राम्रो भयो।'
प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चारवटा सूचनामूलक गरी ४८ वटा स्टल राखिएको थियो। प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा बिक्रि, वितरण भएको छ। यसका साथै यस मौसममा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवाहरुसमेत प्रदर्शनीमा राखिएको थियो।