काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर आयातमा खर्च गरिएको एक खर्ब ७५ अर्ब रुपैयाँ कहिल्यै नेपाल नफर्कने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तिय संस्थाबाट जाने करिब ५० प्रतिशत कर्जा आयातको लागि जाने र सो रकम नेपाल कहिल्यै नफर्कने बताएका छन्।
गभर्नर अधिकारीका अनुसार चालु आर्थिक वर्ष लागेदेखि (साउन १) कात्तिक १४ गतेसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाबाट जम्मा ३ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। यसको ५० प्रतिशत भनेको १ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ बराबर हुन आउँछ।
हाल बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको मुख्य कारण व्यापार घाटा रहेको र कुल कर्जाको ५० प्रतिशत रकम आयातका लागि जाने गरेको तथ्यांक प्रस्तुत गरे।
उनका अनुसार साउनको अन्तिम साता एक्कासी बजारमा तरलता अभावको अवस्था आएको हो। उनले भने,‘साउन २३ गते एक्कासी अन्तरबैंक व्याजदर ४.५ प्रतिशतमा पुग्यो जसबाट थाहा भयो कि बजारमा तरलता अभाव भयो। त्यसअघि अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा कम थियो।’
गभर्नर अधिकारीका अनुसार कोभिडका कारण सेलाएको अर्थतन्त्र सुधार हुँदा यसको प्रभाव तरलतामा देखिएको हो। 'साउन लाग्ने बित्तिकै लगानीकर्ताहरुले नयाँ लगानी गर्न थाले बैंकहरुले बोलाईबोलाई सस्तोमा ऋण उपलब्ध गराउने थाले, आयातका लागि पनि पर्याप्त कर्जा प्रबाह भयो जसको दवाव तरलतामा पर्यो,' उनले भने, 'स्रोत विना बैंकहरुले लगानीमा प्रतिष्पर्धा गर्दा बैंकहरुले तरलता अभावको अवस्था झेल्नुपरेको हो।'
हाल बैंकहरुसँग जम्मा १७ अर्ब रुपैयाँ रकम मात्र लगानीयोग्य रकम रहेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि ऋण तिर्ने भाखा बढाउदा रकम भएका ऋणीहरुले आफूसँग भएको रकम ऋण तिर्न भन्दा वैकल्पिक कामको लागि प्रयोग गरे, त्यस्तै बैंकहरुले पनि आफ्नो घाँटी नहेरी दिन नहुने ठाउँमा पनि कर्जा प्रबाह गरेका छन् जसको असर अहिले भोगिरहेको उनले बताए।
‘नेपालमा भित्रने रेमिट्यान्स रकम पनि घट्यो, नयाँ सरकार गठन हुदा प्रतिस्थापित बजेट आयो जसका कारण सरकारी खर्चपनि समयमा नै हुन सकेन त्यसको नकारात्मक असर तरलतामा परेको हो,’ उनले उल्लेख गरे।
अधिकारीले कोभिडका कारण भएको लकडाउनदेखि (२०७६ चैत ७ गतेदेखि)कात्तिक १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १२ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने ११ खर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ।
२०७६ चैतदेखि कात्तिकसम्म कर्जाको माग खासै नभए पनि त्यसपछि माग अत्याधिक बढ्दा समस्या आएको हो। २०७६ चैतदेखि अहिलेसम्म १२ खर्ब ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ। तर सोही अनुपातामा निक्षेप संकलन नभएको अधिकारी बताउँछन्।
लकडाउनको अवधिमा कर्जा प्रवाह भएन तर निक्षेप भने धेरै राम्रो उठ्यो तर जब लकडाउन खुल्यो निक्षेपको तुलनामा कर्जा प्रबाह ह्वात्तै बढ्यो। पछिल्लो समयमा पनि पहिलेको निक्षेपबाट बैंकहरुले व्यापार विस्तार गरीरहेका छन्।