काठमाडौं- कात्तिक पहिलो साताको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएका किसानलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ। गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठन भएको कार्यदलले गरेको सिफारिसको आधारमा किसानलाई राहत दिन लागिएको हो।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धानबालीमा भएको क्षतिको अध्ययन गर्न गृहसचिव पाण्डेको संयोजकत्वमा कार्यदल गरेको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कार्तिक पहिलो साताको वर्षाका कारण कुल १ लाख ११ हजार हेक्टर क्षेत्रफल जमिनमा लगाएको धानबालीमा क्षति पुगेको छ। ४ लाख २४ हजार मेट्रिक टन हाराहारी धानबालीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ। कुल ११ अर्ब ८७ करोड रुपैयाँ हाराहारीको क्षति भएको मन्त्रालयको भनाइ छ।
सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले साना किसाना, मझौला किसान र ठूला किसान गरी वर्गीकरण गरी राहत उपलब्ध गराउने छ। १० कट्ठासम्म क्षति पुगेकालाई साना किसान, ११ देखि ४० कट्ठासम्मका लागि मझौता र सोभन्दा माथि जग्गा हुनेलाई ठूला किसानमा वर्गीकरण गरिएको छ।
साना किसानलाई क्षतिको ६५ प्रतिशत राहत प्रदान गरिने छ। साना किसानलाई प्रतिकट्ठा १९२१ रुपैयाँका दरले राहत प्रदान गरिने समेत सरकारले घोषणा गरेको छ।
त्यस्तै मझौला किसानलाई प्रतिकट्ठा ८८७ रुपैयाँका दरले क्षतिको ३० प्रतिशत रकम उपलब्ध गराइने सरकारी भनाइ छ। ठूला किसानलाई प्रतिकट्ठा ५९१ रुपैयाँका दरले क्षतिको २० प्रतिशतसम्म उपलब्ध गराउने सरकारले जनाएको छ। यसरी किसानलाई राहत उपलब्ध गराउँदा कुल ५ अर्ब ५२ करोड रुपैयाँ लाग्ने सरकारी अनुमान छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जिल्ला मातहतका विपद व्यवस्थापन समिति परिचालन गरी किसानको विवरण संकलन गरिने जानकारी दिएको छ। त्यस्तै स्थानीय तहका विपद् व्यवस्थापन समितिको समेत परिचालन गरी क्षति बेहोरेका किसानको विवरण संकलन गरिने मन्त्रालयको भनाइ छ। सो विवरणको आधारमा सरकारले सम्बन्धित किसानको बैंक खातामार्फत् रकम उपलब्ध गराउने छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेर हप्ताभित्रै कार्यविधि बनाउन 'म्यान्डेट' दिएको छ। सो कार्यविधि मन्त्रिपरिषदमा पेस गरी मन्त्रिपरिषदबाट कार्यविधि पारित भएपछि मात्रै किसानलाई बैंकमार्फत् रकम उपलब्ध गराइने भएको हो।