शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • घट्यो विद्युत महसुल, इन्डक्सन चुलो र विद्युतीय सवारीलाई प्रोत्साहन

घट्यो विद्युत महसुल, इन्डक्सन चुलो र विद्युतीय सवारीलाई प्रोत्साहन

बुधबार पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष डिल्लीबहादुर सिंहले महसुल दर औसतमा २.८४ प्रतिशत घटाइएको जानकारी दिए। विद्युतको उचित मूल्य सुनिश्चित गर्न महसुल घटाइएको उनको भनाइ छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- सरकारले विद्युतीय सवारी र इन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महसुल घटाएको छ। विद्युत नियमन आयोगले आगामी मंसिरदेखि लागू हुने गरी महसुल घटाइएको जानकारी दिएको हो। 

बुधबार पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष डिल्लीबहादुर सिंहले महसुल दर औसतमा २.८४ प्रतिशत घटाइएको जानकारी दिए। विद्युतको उचित मूल्य सुनिश्चित गर्न महसुल घटाइएको उनको भनाइ छ।

‘प्राधिकरणले गरेको नाफा सर्वसाधारणले समेत महसुस गर्नुपर्छ भनेर मूल्य घटाइएको हो,’ अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा भने, ‘आन्तरिक रूपमा विद्युत खपत बढाउन उपभोक्तालाई प्रोत्साहन गर्नुपर्ने पक्षलाई समेत दृष्टिगत गर्दै महसुल घटाइएको छ।’

आयोगका अनुसार सिंगल फेजबाट मासिक १५१ युनिटदेखि २५० युनिटसम्मको खपत गर्ने ५ एम्पियरको उपभोक्ताको मासिक शुल्क १ सय रुपैयाँ कायम गरिएको छ। यसअघि उक्त मूल्य १२५ रुपैयाँ थियो। त्यस्तै १५ एम्पियर र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्क क्रमशः १२५ रुपैयाँ र १५० रुपैयाँ कायम गरिएको छ। यसअघि उक्त मूल्य क्रमशः १५० रुपैयाँ तथा १७५ रुपैयाँ रहेको थियो।

यस्तै सिंगल फेजबाट मासिक ४ सय युनिट भन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्क १५० रुपैयाँ कायम गरिएको छ। यसअघि उक्त मूल्य १७५ रुपैयाँ रहेको थियो। 

मासिक ४ सय युनिट भन्दा बढी खपत गर्ने १५ एम्पियरका उपभोक्ता न्यूनतम शुल्क मासिक १७५ रुपैयाँ, ३० एम्पियरका उपभोक्ताको मासिक २ सय रुपैयाँ र ६० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्क २५० रुपैयाँ कायम गरिएको आयोगले जानकारी दिएको छ।

विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियर क्षमताबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने बनाइएको छ। तर, न्यूनतम शुल्क ३० रुपैयाँ भने विपन्न नागरिकले समेत तिर्नुपर्ने छ।

आयोगले सिंगल फेजबाट १५१ युनिट देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकको इनर्जी शुल्कमा ५० पैसा घटाएको छ। यसअघि प्रतियुनिट १० रुपैयाँ इनर्जी शुल्क लाग्दै आएकोमा अब ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

त्यस्तै, सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँले घटाइएको छ। यसअघि १२ रुपैयाँ प्रतियुनिट रहेको उक्त शुल्क ११ रुपैयाँ प्रतियुनिट कायम गरिएको छ। 

यसरी घटाइएको महसुलले विद्युतीय सवारी तथा इन्डक्सन चुलो प्रयोगमा प्रोत्साहन हुने आयोगका अध्यक्ष सिंहको भनाइ छ। सरकारी नीतिसमेत विद्युत खपत बढाउने रहेकाले सिंगल फेजबाट १५१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई विद्युतीय चुलोमा प्रयोगमा प्रोत्साहन हुने गरी नयाँ महसुल दर निर्धारण गरिएको सिंहले बताए।

उनका अनुसार थ्री फेजबाट विद्युत लिने ग्राहकलाई असारदेखि कार्तिकसम्म वर्षायामको महसुल दर र मंसिरदेखि जेठसम्मको सुख्खायामको महसुल दर फरक-फरक कायम गरिएको छ।

आयोगले सिंचाई उपभोक्ताका लागि विद्युतको मूल्य औसत ४०.६९ प्रतिशतले घटाइएको जानकारी दिएको छ। टिओडीमार्फत् ३३ केभी लाइनबाट लिएर राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि प्रतियुनिट २ रुपैयाँ कायम गरिएको छ।  यसअघि उक्त शुल्क ३ रुपैयाँ १५ पैसा रहेको थियो।

सिंचाइमा प्रयोग हुने विद्युतका हकमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतियुनिट ३ रुपैयाँ १० पैसा शुल्क कायम गरिएको छ। आयोगका अनुसार यसअघि उक्त समयमा प्रतियुनिट ४ रुपैयाँ ७५ पैसा रहेको थियो।

त्यस्तै टीओडी मिटर नराखी ३३ केभीबाट लिइने विद्युतमा प्रतियुनिट २ रुपैयाँ ५० पैसा कायम गरिएको छ। यसअघि उक्त महसुल प्रतियुनिट ४ रुपैयाँ ८० पैसा रहेको थियो।

प्रकाशित: Oct 27, 2021| 17:04 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्