काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बिमाको प्रिमियम दर तोक्ने बिमा समितिको निर्णय खुला बजार नीति विपरीत रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि न्यूनतम प्रिमियम दर तोकेपछि महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
'खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियमको न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जानेछ,’ प्रिमियम दर तोक्नु आपत्तिजनक भएको बताएको महासंघले थपेको छ, 'विभिन्न उद्यमी व्यवसायीहरुसँग गरिएको छलफल अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि बिमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन्। यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघ माग गर्दछ। प्रतिस्पर्धा निरुत्साहित हुने गरी नियामक निकायद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैरशुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरवलोकन गर्न महासंघ आग्रह गर्दछ।'
महासंघले अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यावसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष आग्रह गरेको छ।