शुक्रबार, असोज १६, २०८३

बेमौसमी वर्षाले धानमा सवा ८ अर्बको क्षति

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण धानबालीमा करिब ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं– कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण धानबालीमा करिब ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार सात वटै प्रदेशका १९ जिल्लामा उक्त रकम बराबरको धानबाली क्षति भएको हो।

मन्त्रालयको प्रारम्भिक विवरण अनुसार ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ। सो क्षेत्रफलमा लगाइएको बालीमा भएको क्षतिबाट ३ लाख २५ हजार २५९ टन धानमा क्षति पुगेको मन्त्रालयको अनुमान छ।

मन्त्रालयको प्रारम्भिक प्रक्षेपण अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र त्यसपछि सुदूरपश्चिम प्रदेशमा भएको छ। लुम्बिनी प्रदेशमा १० हजार ५८४ हेक्टर क्षेत्रफल जमिनमा लगाएको धानबाली क्षति भएको छ। लुम्बिनीमा ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा नराम्रो असर परेको पनि मन्त्रालयको प्रक्षेपण छ।

लुम्बिनीमा असर परेको र क्षति भएको गरी कुल ४ अर्ब ५१  करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ। त्यस्तै सुूरपश्चिममा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा नराम्रो असर पुगेको र ६८ हजार ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति भएको मन्त्रालयको प्रक्षेपण छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेश २ मा ५६ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमानित तथ्यांक छ। बागमती प्रदेशमा ५ करोड ८० लाख, गण्डकीमा १३ करोड रुपैयाँ तथा कर्णालीमा ३० करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ।

मन्त्रालयका अनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा र सर्लाही, बागमतीका चितवन र नुवाकोटमा धानबालीमा क्षति पुगेको छ। त्यस्तै गण्डकीका स्याङ्जा र कास्की, लुम्बिनीका बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देही तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भएको क्षति तथ्यांकमा समेटिएको छ। मन्त्रालयले प्रारम्भिक क्षतिको तथ्यांक सार्वजनिक गरे पनि गाउँमा भएको क्षतिको विवरण काठमाडौंबाटै संकलन गरेकाले क्षतिको यकिन विवरण आउनेमा किसानहरुले नै शंका गरेका छन्।

पछिल्लो समय सरकारले पनि धानबालीमा भएको क्षतिको विवरण संकलन गर्न कार्यदल गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदललाई ३ दिनभित्र क्षतिको विवरण संकलन गरी प्रस्तुत गर्न समयसीमा दिइएको छ।

प्रदेश सरकारसँग समन्वय

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वर्षाका कारण  धानबालीमा भएको क्षतिको विवरण संकलनका लागि प्रदेश तथा स्थानीय सरकारसँग समन्वय भइरहेको जानकारी दिएको छ। सोही सन्दर्भमा प्रदेश कृषि मन्त्रालयसँग मंगलबार छलफल समेत भएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले प्रदेश कृषि मन्त्री तथा सचिवहरुसँग छलफल गरिएको जानकारी दिए।

उनका अनुसार छलफलले प्रदेश तथा मातहतका कृषि सम्बद्ध निकायहरुले धानबाली तथा पशुपन्छीमा भएको क्षतिको विवरण एक हप्ताभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्ने निष्कर्ष निकालिएको छ। ‘प्रदेशस्थिसत कृषि सम्बद्ध मन्त्रालयका जिल्लास्थित कार्यालयहरुले स्थनीय तहहरुको समन्वयमा क्षतिको कृषकस्तरको विवरण संकलन गरी एक हप्ताभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्ने निर्णय गरिएको छ,’ बैठकपछि मन्त्रालयका प्रवक्ता सन्जेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै क्षतिको विवरण संकलन गरेपछि मात्रै आवश्यक राहतका लागि पहल गरिने पनि मन्त्रालयको निष्कर्ष रहेको छ।

प्रकाशित: Oct 27, 2021| 13:35 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्