काठमाडौं– दसैं सकिएपछि काठमाडौं महानगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ। सोमबार चाबहिल क्षेत्रमा महानगरपालिकाले मिठाई पसलहरुमा अनुगमन गरेको हो।
महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले सोमबार गरेको अनुगमनका क्रममा मिठाई पसलहरुमा बेथिति रहेको पाइएको छ। अनुगमनपछि महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा मिठाई पसलहरुमा कोभिडको स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गरेको पाइएको उल्लेख छ।
त्यस्तै, अनुमति नलिई मिठाईजन्य खानेकुरा प्याकेजिङ गर्ने गरिएको पनि भेटिएको महानगरपालिका कृषि शाखा प्रमुख हरिबहादुर भण्डारीको भनाइ छ। उनका अनुसार चाबहिल क्षेत्रमा दर्ता अनुमति नलिई सञ्चालनमा रहेका, दर्ता नवीकरण नगरी सञ्चालनमा रहेका दुई मिठाई पसललाई जरिवाना समेत गरिएको छ। गुणस्तर मापदण्ड पूरा नगरेका गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ तथा पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको महानगरपालिकाले जानकारी दिएको छ।
अनुगमनका क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति सकिएका २५० ग्राम तौल भएका ५८ वटा प्याकेट जफत गरिएको महानगरपालिकाले जानकारी दिएको छ। त्यसैगरी गुप्ता स्वीट एण्ड चाटबाट २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत गरिएको महानगरपालिकाको भनाइ छ।
नगरपालिकाले सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करिब ५ लिटर खान अयोग्य तेल नष्ट गरिएको, म्याद गुज्रिएको सोना पापड ९ प्याकेट, मुंग दाल ७ प्याकेट, बिकानिर पञ्जावी तड्का ४ प्याकेट, बिकानिर भुजिया ४ प्याकेट, बिकानिर मिक्स ९० प्याकेट जफत गरिएको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।