काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तीन वटा वाणिज्य बैंकलाई जरिवाना तिराएको छ।
नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) नपुर्याएको भन्दै कारबाही गरेको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि ३ प्रतिशत सीआरआर र १० प्रतिशत एसएलआर तोकेको छ। तर, तरलता अभाव भएकोले ती बैंकले सीआरआर र एसएलआर तोकिएबमोजिम कायम गरेका थिएनन्।
चालु आर्थिक वर्षमा मात्र हिमालन बैंकले यही कसुरमा दुईपटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ भने नेपाल बंगलादेश बैंकले ३० हजार ३२४ र प्रभु बैंकले ३५ हजार ६९५ रुपैयाँ जरिवाना तिरेको छ।