आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दूध अनुदान कार्यक्रमअन्तर्गत गल्याङका एउटै किसानले पाए अढाइ लाख

दूध अनुदान कार्यक्रमअन्तर्गत गल्याङका एउटै किसानले पाए अढाइ लाख

स्याङ्जाको गल्याङ नगरपालिकाले किसानलाई दुधमा प्रतिलिटर १५ का दरले अनुदान उपलब्ध गराउँदै किसानलाई व्यावसायिकतातर्फ लाग्न उत्प्रेरित गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

वालिङ- स्याङ्जाको गल्याङ नगरपालिकाले किसानलाई दुधमा प्रतिलिटर १५ का दरले अनुदान उपलब्ध गराउँदै किसानलाई व्यावसायिकतातर्फ लाग्न उत्प्रेरित गरेको छ।

नगरपालिकाले बटुवाका ६६ किसानलाई रु १२ लाख अनुदान वितरण गरिसकेको जनाएको छ। गल्याङ नगरपालिका–२ बटुवामा रहेको बटुवा दुग्ध उत्पादन संकलन केन्द्रमा दूध संकलन गर्ने ६६ जना किसानलाई दूध उत्पादनका आधारमा प्रतिलिटर रु १५ का दरले ११ लाख ८६ हजार ५ सय ७५ वितरण गरेको जनाएको हो।

निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बन्न प्रेरित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रतिलिटर रु १५ का दरले अनुदान उपलब्ध गराउँदै आएको नगर प्रमुख भूपराज अधिकारीले बताए।

‘किसानलाई अनुदानको व्यवस्थाले व्यावसायिकतातर्फ अगाडि बढ्न उत्साहित गरेको छ,’ नगरप्रमुख अधिकारीले भने, ‘किसान पूर्णरुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम निरन्तर हुनेछ।’

कृषि तथा पशुपालन गर्दै आएका किसानले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थ तथा कृषिजन्य उत्पादनको बजारीकरणका लागि नगरपालिकाले जिम्मा लिने लिने नगर प्रमुख अधिकारीले बताए।

नगरपालिकाले ‘गाई पकेट लागत साझेदारी कार्यक्रम’अन्तर्गत १७ किसानलाई जनही रु ७२ हजारका दरले सात लाख १४ हजार रुपैयाँ वितरण गरेको पशु शाखा प्रमुख सुशील अर्यालले बताए।

गाई पकेट कार्यक्रम तथा दूधमा अनुदान कार्यक्रमले गल्याङ नगरभित्रका किसान उत्साहित भएको शाखा प्रमुख अर्यालले बताए। दूध संकलन केन्द्रमा सबैभन्दा धेरै दूध संकलन गरेबापत प्रतिलिटर रु १५ का दरले छ महिनामा अनुदानको दुई लाख ४० हजार ८ सय पाएको किसान टीकाकुमारी रानाले बताए।

‘जति दूध उत्पादन गरे पनि संकलन केन्द्रमार्फत बिक्री गर्न सहज भएको छ। अनुदानस्वरुप प्रतिलिटर १५ रुपैयाँ प्राप्त हुन्छ,’ रानाले भने, ‘यसले जोश र जाँगर थपिएको छ।’

गल्याङ नगरपालिकालाई ‘सेतो शहर’ का रुपमा पहिचान दिने गरी नगरपालिकाले किसानलाई गाई, भैंसी अनुदानमा वितरण गर्दै आइरहेको छ भने उत्पादित दूधमा अनुदानसहित उत्पादित दूधको बजारीकरणका लागि सहयोग गरेको छ।

प्रकाशित: Aug 05, 2021| 09:55 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्