काठमाडौं– शिक्षक सेवा आयोग नियमावली संशोधन हुन नसक्दा शिक्षकको विज्ञापन र बढुवालगायतका प्रक्रिया अन्योलमा परेको छ।नियमावलीको एघारौं संशोधन मस्यौदा मन्त्रिपरिषद्मा पेस भए पनि निर्णय हुन सकेको छैन। मस्यौदामा केही अस्पष्टता रहेको भन्दै मन्त्रिपरिषद्ले विधेयक उपसमितिमा पठाएपछि तत्काल संशोधन नहुने संकेत देखिएको छ।
‘मन्त्रिपरिषद्ले छलफल गरेर टुंग्याउनुपर्ने विषय भए पनि थप छलफल आवश्यक भएको भन्दै समितिमा पठाइएको छ’, मन्त्रालय स्रोतले भन्यो।’ नियमावली संशोधन भएसँगै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको आयोग यतिबेला अन्योलमा छ। नियुक्ति प्रक्रिया, ऐनकानुन तथा शिक्षक महासंघको सहमतिबमोजिम योग्यता, अध्यापन अनुमतिपत्रलगायत विषयमा सहजीकरणका लागि नियमावली संशोधन गर्न लागिएको हो।
आयोग नियमावली २०५७ को दफा (१८) र (३८) नम्बरको बुँदा संशोधन र दफा १८ को परीक्षाको पूर्णांक र उत्तीर्णांक सम्बन्धी व्यवस्थामा आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पूर्णांकको विषय र दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिससम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्न लागिएको छ। ती बुँदा संशोधन गरेपछि मात्र आयोगलाई विज्ञापन गर्ने बाटो खुल्नेछ।
यता आयोगले भने स्थायी शिक्षकको विज्ञापन गरेपछि मात्र शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) सञ्चालन गर्ने तयारीमा छ।प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजार २ सय २३ जना शिक्षक दरबन्दी रिक्त छ। यस्तै बढुवाबाट पदपूर्तिका लागि ३ हजार ३ सय ९० जना गरी कुल २० हजार ६ सय १३ शिक्षकको रिक्त दरबन्दी रहेको आयोगको तथ्यांक छ।
प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
आयोगले लामो समयदेखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्न सकेको छैन। आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएपछि आयोगले पदाधिकारी पाएसँगै विज्ञापन गर्ने तयारी गरेको थियो। तर, विद्यालय शिक्षाको संरचना फेरिएको र शिक्षकको तहगत संरचनामा पनि परिवर्तन ल्याउनुपर्ने भएकाले नियमावली संशोधन नगरी विज्ञापन गर्न मिल्दैन।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगलाई रिक्त हुने जिल्ला र विषयगत दरबन्दी विवरण यसअघि नै पठाइसकेको छ। जसअनुसार प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ। निमाविको दरबन्दीमध्ये विषयगत रुपमा नेपालीमा ४ सय ३६, अंग्रेजीमा ६ सय २२, सामाजिक ३ सय ५३, गणित ३ सय ७०, विज्ञान ४ सय ४०, संस्कृत व्याकरण २, शुक्ल यजुर्वेद १, संस्कृत भाषा ३, संस्कृत कर्मकाण्ड १, संस्कृत साहित्यमा २ जना दरबन्दी रिक्त छ।
यस्तै माध्यमिक तहमा १ हजार ५ सय ४४ रिक्त दरबन्दीमध्ये नेपालीमा २ सय ३१, अंग्रेजीमा ३ सय १२, सामाजिकमा २ सय १, गणितमा २ सय ८९, विज्ञानमा ४ सय ३४ दरबन्दी रिक्त छ। कार्यालय सञ्चालन तथा लेखामा ४९, अर्थशास्त्रमा १०, संस्कृत व्याकरणमा ३, शुक्ल यजुर्वेदमा १, संस्कृत भाषामा ३, स्वास्थ्यमा २, शिक्षामा १, कम्प्युटरमा ६, वेदमा १ र न्यायमा १ जनाको दरबन्दी रिक्त छ।
आन्तरिक तथा बढुवातर्फ पनि प्राथमिक तहमै प्रथम र द्वितीय श्रेणीको बढुवा हुनेको संख्या धेरै छ। बढुवातर्फ प्राथमिक तहको प्रथम श्रेणीमा ४ सय ६४ र द्वितीय श्रेणीमा १ हजार ६ सय ९३ गरी २ हजार १ सय ५७ शिक्षक दरबन्दी रिक्त हुँदैछ।
नियमावली संशोधन प्रक्रियामा रहेको र केही विषयको पाठ्यक्रम पनि तयारी अवस्थामै रहेकाले पनि तत्काल विज्ञापन खुलाउन नसकिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।
निमावि तहको प्रथम श्रेणीमा ८९ र द्वितीय श्रेणीमा ४ सय ७४ गरी ५ सय ६३ पद रिक्त हुँदैछ। माध्यमिक तह प्रथम श्रेणीमा १ सय २६ र द्वितीय श्रेणीमा गरी ५ सय ४४ गरी ६ सय ७० पद रिक्त हुँदैछ।
नियमावली संशोधन प्रक्रियामा रहेको र केही विषयको पाठ्यक्रम पनि तयारी अवस्थामै रहेकाले पनि तत्काल विज्ञापन खुलाउन नसकिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए। उनले भने, ‘हामीले हाम्रो तर्फबाट गर्ने काम गरिसकेका छौं अब नियमावली मन्त्रिपरिषद्बाट संशोधन भएर आएसँगै काम अघि बढाउँछौं। आन्तरिक बढुवातर्फका श्रेणीगत तहमा विज्ञापन गर्न समस्या छ। यसलाई हल गरेर विज्ञापन गर्नुपर्छ। अन्योलमा राख्नु हुँदैन।’
शिक्षक सेवा आयोगको विज्ञापन खुल्ने आसमा बसेका परीक्षार्थी भने थप अन्योलमा परेका छन्। आयोगले नियमावली संशोधन भएपछि विज्ञापन खुलाउने तयारी गरे पनि अनलाइन वा भौतिक रूपमा आवेदन फारम भराउने भन्ने अझै टुंगो लगाएको छैन। आयोगको तथ्यांकअनुसार परीक्षामा सहभागीमध्ये तहगत रुपमा हालसम्म ७ लाख १७ हजार १ सय ५ जनाले अध्यापन अनुमतिपत्र लिइसकेका छन्।
जसमा एक लाख ४४ हजार तीन सय ८१ माध्यमिक, तीन लाख ७० हजार १२ निम्नमध्यमिक र २ लाख २ हजार ७ सय १२ जनाले प्राथमिक तहको अध्यापन अनुमतिपत्र लिइसकेका छन्। देशभरका सामुदायिक तथा सरकारी विद्यालयमा १ लाख १७ हजार ४ सय ७६ जना शिक्षक कार्यरत छन्।
आयोगले २०७५ असारयता स्थायी शिक्षकको विज्ञापन गर्न सकेको छैन। पछिल्लोपटक २०७६ असार २ गते यता अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन भएको छैन। पछिल्लोपटक लाइसेन्स परीक्षा उत्तीर्ण गरेर विभिन्न विषयमा अध्यापन गर्न पाउने अनुमतिपत्र लिएर आयोगको स्थायी शिक्षकको विज्ञापन कुरेर बसेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक सेवा आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले सबैभन्दा पहिला बढुवाको विज्ञापन गर्ने त्यसपछि अन्य विज्ञापन र लाइसेन्स परीक्षा क्रमिक रूपमा गर्दै जाने विषयमा छलफल भएको थियो। मुलुकभर करिब ५४ हजार शिक्षक दरबन्दी अभाव भए पनि आयोगले २० हजार ६ सय १३ शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ।