नयाँ दिल्ली- एक अमेरिकी रिपोर्टले भारतले रुसको सहयोगमा हाइपरसोनिक मिसाइल प्रणालीको विकास गरिरहेको दाबी गरेको छ।
अमेरिकी स्वतन्त्र कंग्रेसियनल रिसर्च सर्भिस (सीआरएस) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार अमेरिका, रुस र चीनसँग सबैभन्दा आधुनिक हाइपरसोनिक मिसाइल प्रणाली रहेको छ।
तर, भारत, अस्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानजस्ता देशहरुले हाइपरसोनिक मिसाइल प्रणाली विकास गरिरहेको उक्त रिपोर्टले जनाएको छ। सीआरएसका अनुसार अस्ट्रेलियाले हाइपरसोनिक मिसाइलका लागि अमेरिकासँग साझेदारी गरेको छ भने भारतले रुससँग सहयोग मागेको जनाइएको छ।
रिपोर्टका अनुसार भारतले सात हाइपरसोनिक मिसाइल विकास गर्नका लागि रुससँग साझेदारी गरेको हो। भारतले हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर भेहिकल कार्यक्रम अन्तर्गत स्वदेशी र दोहोरो क्षमताको हाइपरसोनिक मिसाइल बनाइरहेको छ।
भारतले सन् २०१९ र २०२० मा स्क्रेमजेट ६ को सफल परीक्षण गरेको थियो। भारतमा करिब १२ वटा हाइपरसोनिक बिण्ड टनल रहेको जनाइएको छ।
यसअघि अमेरिकाले भारतले रुसबाट हतियार खरिद गरेको भन्दै आपत्ति जनाएको थियो। फेरि हाइपरसोनिक मिसाइल पनि रुससँगको साझेदारीमा गर्नका लागेको छ।
बेलायती अखबारका अनुसार चीनले अगस्तमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको थियो। तर, चीनले भने उक्त समाचारको खण्डन गर्दै मिसाइल नभएर स्पेस क्राफ्टको परीक्षण गरेको दाबी गरेको थियो।