शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सञ्जालमार्फत भ्रमित बनाउँदै ठूला लगानीकर्ता, बोर्ड भन्छ– बन्देज लगाउनेबारे छलफल चलेको छ

सामाजिक सञ्जालमार्फत भ्रमित बनाउँदै ठूला लगानीकर्ता, बोर्ड भन्छ– बन्देज लगाउनेबारे छलफल चलेको छ

ठूला तथा अनुभवी लगानीकर्ताहरु बजार उकालो लाग्ने दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्छन् तर उनीहरुले बजार बढ्ने आधारहरु दिन सक्दैनन्। उनीहरुकै स्टाटसका आधारमा नयाँ लगानीकर्ताहरु उत्साहित भएर लगानी गरिरहेका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– सञ्जय श्रेष्ठ पेशाले इन्जिनियर हुन्। साथै उनी सेयर कारोबार पनि गर्छन्। डेढ वर्षअघि एकजना साथीको सुझावमा उनले सेयर कारोबार गर्न थालेका थिए। लकडाउनको सदुपयोग गर्न भनेर सेयरतिर रुचि बढाएका सञ्जयले नियमित रुपमै कारोबार गर्न थाले। 

विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओ नछुटाई भर्थे सञ्जय। त्यसैक्रममा उनलाई साथीले दा्स्रो बजारमा प्रवेश गर्न सुझाए। ‘लकडाउनका कारण बाहिर जान नपाएपछि घरमा नै बन्धक बनेर बसिएको थियो। त्यही क्रममा एक जना साथीले दोस्रो बजारमा कारोबार गरे मालामाल भइन्छ भनेर सुझाव दिए। अनि म पनि हामफालें,’ सञ्जयले सुनाए।

साथीकै लहलहैमा लागेर उनले दोस्रो बजारमा सेयर कारोबार गर्न थाले। विस्तारै उनी फेसबुकमा सेयर बजार सम्बन्धी जानकारी दिने ग्रुप तथा पेजहरुमा सामेल हुन थाले र सेयर बजारका ठूला खेलाडी मानिएका व्यक्तिहरु अम्बिकाप्रसाद पौडेल, ज्ञानेन्द्रलाल प्रधान, विष्णु बस्याल आदिको फेसबुक फलो गर्न थाले। 

उनी अहिले पनि आफूले सोसल मिडियामा पछ्यारहेका ठूला लगानीकर्ताहरुले के लेख्छन्, क्लब हाउसमा के बोल्छन् भन्ने कुरा ध्यान दिएर सुन्छन् र उनीहरुले भनेअनुसार नै लगानी गर्ने गरेका छन्। 

सञ्जय जस्ता थुप्रै लगानीकर्ता यसरी लगानी गर्छन्। गत बुधबार तिनै ठूला लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजार अब उकालो लाग्ने भन्दै फेसबुकमा स्टाटस लेखे। तर उनले बजार बढ्ने आधारहरु भने केही दिएनन्। नभन्दै बुधबार बजार झन्डै ६० अंकको हाराहारीमा उकालो पनि लाग्यो। तर बिहीबार भने १४ अंकले ओरालो लाग्यो। बजार ओरालो लागेको दिन भने उनले केही लेखेनन्। पौडेलले आफ्नो स्टाटसमा बजारको लागि अब केही पनि नकारात्मक समाचार बाँकी नरहेको दाबी गरेका थिए। तर नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई  निक्षेपको ब्याज घटाउन निर्देशन जारी गरिदियो। 

त्यसैको असर देखियो सेयर बजारमा। एक दिनको लागि बजार उकालो लाग्न पौडेलको सो स्टाटसले पनि महत्वपूर्ण भूमिका खेल्यो। अर्का लगानीकर्ता विष्णुप्रसाद बस्यालले पनि गत मंगलबार अबको २० वटा कारोबारपछि नेप्से ३ हजारमा पुग्न सक्ने दाबी गर्दै स्टाटस लेखेका थिए। यसले लगानीकर्ताहरुमा बजार उकालो लाग्ने भ्रम पैदा भयो र धेरै कमाउने लोभमा सेयर किन्न थाले र बजार उकालो लाग्यो। 

ठूला तथा अनुभवी लगानीकर्ताहरु बजार उकालो लाग्ने दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्छन् तर उनीहरुले बजार बढ्ने आधारहरु दिन सक्दैनन्। उनीहरुकै स्टाटसका आधारमा नयाँ लगानीकर्ताहरु उत्साहित भएर लगानी गरिरहेका छन्।

ठूला लगानीकर्ताको स्टाटसमा निकै विश्वास लाग्ने लगानीकर्ता यम पौडेल बताउँछन्। भन्छन्, ‘उनीहरुसँग धेरै अनुभव छ। अध्ययन पनि गरेका हुन्छन्। त्यसैले उनीहरुको कुरामा विश्वास लाग्छ। तर, उनीहरुले भनेबमोजिम नै लगानी गर्दा पनि अहिले घाटा बेहोर्न थालेको छु।’ 

पछिल्लो समय अनुभवी तथा ठूला भनिएका लगानीकर्ताहरुले बजार उकालो लगाउन ठूलै कसरत गरिरहेका छन्। आफूहरुसँग भएको ८५ प्रतिशत सेयर बजार उकालो लागेको बेलामा बेचिसकेको र थप किन्ने मानिसहरु बजारमा सिर्जना गराउनुपर्ने दबाबका कारण उनीहरुले लगानीकर्ताहरुलाई उकास्ने गरी स्टाटस लेख्ने गरेको एक लगानीकर्ताले बताए। ‘बजार उकालो लाग्छ भनेर लगानीकर्ताहरुलाई उक्साउनु अपराध हो। यदि उनीहरुको उक्साहटमा लागेर लगानीकर्ताले धेरै लगानी गरेर फसे भने त्यसको जवाफदेही को हुन्छ? लगानीकर्तालाई आफ्नै ज्ञान र अध्ययनका आधारमा लगानी गर्ने वातावरण हुनुपर्छ,’ उनले भने।

त्यसो त नेपाल धितोपत्र बोर्डले पनि बारम्बार विज्ञप्ति जारी गरेर अरुको उक्साहटमा लगानी नगर्न लगानीकर्ताहरुलाई आग्रह गर्दै आइरहेको छ। बजारमा जोखिम पनि हुने भएकोले अरुको उक्साहटमा लगानी गर्न नहुने बोर्डले सचेत गराउँदै आएको छ।

बोर्डमा हिजो बिहीबार सोसल मिडियामा जथाभावी लेख्न नदिने गरी निर्देशन जारी गर्नेबारेमा छलफल भएको बताइएको छ। छलफलमा बोर्ड सञ्चालक समितिका केही सदस्यले लगानीकर्तामाझ अभियान चलाएर वित्तीय साक्षरता बढाउनुपर्ने धारणा राखेका थिए भने केहीले सामाजिक सञ्जालमा सेयरसम्बन्धी लेख्न र बोल्न बन्देज लगाउनुपर्ने धारणा राखेका थिए। यसबारे बोर्डले कुनै निष्कर्ष भने निकालिसकेको छैन। 

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार बोर्डले सामाजिक सञ्जालमा लेख्न बन्देज लगाउने बारेमा गम्भीर बहस चलाइरहेको छ। उनले भने, ‘सामाजिक सञ्जालमा सेयर बजारबारे लेख्न हुने कि नहुने भन्ने बहस विश्वभर नै चलिरहेको छ। विश्वभरकै सेयर बजार नियमन गर्ने नियामकको टाउको दुखाइ बनेको छ यो विषय। हामी पनि सोही समस्याबाट गुज्रिरहेका छौं।’

लगानीकर्तालाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा हुने टिप्पणी र बहसबारे बोर्ड सञ्चालक समितिमा गम्भीर छलफल भइरहेको र चाँडै निर्णयमा पुगिने उनले बताए। ‘वित्तीय साक्षरतालाई अभियानको रुपमा चलाउन सके लगानीकर्ताहरु सामाजिक सञ्जालको कुरामा विश्वास गर्दैनथे,’ गिरी भन्छन्।


प्रकाशित: Oct 22, 2021| 18:15 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्