शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्डको अध्यक्षका लागि सत्तारुढ दल फकाउँदै आकांक्षीहरू

धितोपत्र बोर्डको अध्यक्षका लागि सत्तारुढ दल फकाउँदै आकांक्षीहरू

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दौडधुप सुरु भएको छ। यसका लागि सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस निकट व्यक्तिहरु लागिपरेका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दौडधुप सुरु भएको छ। यसका लागि सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस निकट व्यक्तिहरु लागिपरेका छन्।

सरकारले भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि नयाँ अध्यक्षका लागि लबिङ सुरु भएको हो। अध्यक्षको दौडमा निरज गिरी, कृष्णप्रसाद आचार्य, डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र रेवतबहादुर कार्की रहेको बताइएको छ।

आचार्य नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री स्व. भरतमोहन अधिकारीका ज्वाइँ हुन्। उनी यसअघि कर्मचारी सञ्चय कोषमा प्रमुख प्रशासक थिए भने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का निवर्तमान अध्यक्ष हुन्। आचार्य नेकपा (एस) को कोटामा अध्यक्ष बन्ने दौडमा छन्। सरकारी नियुक्तिहरुमा समाजवादीले पनि भाग पाउनुपर्ने दाबी गर्दै आएको छ। त्यसैले पनि आचार्य आफूले अध्यक्ष पाउने आशमा रहेको बताइएको छ।

गिरी भने बोर्डका कायममुकायम अध्यक्ष तथा कार्यकारी निर्देक हुन्। उनी नेपाली कांग्रेसलाई रिझाएर अध्यक्ष बन्ने दाउमा रहेको स्रोत बताउँछ। उनलाई अध्यक्ष बनाउनका लागि कांग्रेसका केही नेताहरु लागेको बुझिएको छ। 

डा. अधिकारी भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ निकट हुन्। उनी अहिले बोर्डमा सहायक कार्यकारी निर्देशक छन्।

उता, यसअघि नेपाली कांग्रेसकै कोटामा धितोपत्र बोर्ड अध्यक्ष भएका रेवतबहादुर कार्की पनि पुनः अध्यक्षका लागि दौडमा सामेल भएका छन्। उनी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की निकट भएको बताइनछ। ज्ञानेन्द्रबहादुर अर्थमन्त्री हुँदा नै रेवतबहादुर बोर्ड अध्यक्ष भएका थिए। 

अध्यक्षका अर्का आकांक्षी हुन्, नेकपा माओवादी केन्द्र निकट चीरञ्जीवी चापागाईं। यसअघि बीमा समितिको अध्यक्ष भइसकेका चापागाईं माओवादी नेता कृष्णबहादुर महरा निकट मानिन्छन्।

मन्त्रिपरिषद्ले सिधै नियुक्त गर्ने धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ। भीष्म ढुंगाना २० महिना काम गरेपछि बर्खास्तीमा परेका हुन्। पुनर्बहालीका लागि उनी अदालत गएका छन्। 

अध्यक्ष खाली हुँदा बोर्डको काम झन्डै दुई महिनादेखि सबै काम ठप्प छ। बोर्ड नेतृत्वविहीन हुँदा सेयर बजारमा अनावश्यक चलखेल भएको भन्दै छिटो अध्यक्ष नियुक्ति गर्न कर्मचारीले माग गर्दै आएका छन्। 


प्रकाशित: Oct 22, 2021| 07:44 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्