काठमाडौं– नेपाल राष्ट्र बैंकले ९.३ प्रतिशतभन्दा बढी ब्याज नलिन बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले बुधबार मौखिक निर्देशन दिँदै ब्याजदरको अधिकतम सीमा तोकिदिएको हो।
राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले बुधबार वाणिज्य बैंक तथा विकास बैंक संघका अध्यक्षलाई फोन गरेर बैंकको ब्याजदर तोकिदिएका हुन्। फाइनान्स कम्पनीका अध्यक्ष सरोजकाजी तुलाधरलाई भने उनले कार्यालयमा नै बोलाएर ब्याजदरको अधिकतम सीमा तोकिदिएका थिए।
राष्ट्र बैंकले कुनै लिखित निर्देशन भने नदिएको बैंकरहरुले बताएका छन्। मौखिक निर्देशन अनुसार अब वाणिज्य बैंकले अधिकतम ९.३, विकास बैंकहरुले ९.५ र फाइनान्स कम्पनीहरुले ९.६ प्रतिशतमात्र ब्याज लिन पाउनेछन्।
कात्तिक १ गतेदेखि लागु हुनेगरी वाणिज्य बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकलाई हस्तक्षेपको लागि चौतर्फी दबाब परेको थियो। दबाब झेल्न नसकेपछि मंगलबार साँझ नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदरमा लगाम लाग्ने गरी तीन बुँदे निर्देशन दिएको थियो। त्यसपछि पनि दबाब आएपछि बुधबार भने बैंकहरुलाई मौखिक निर्देशन दिइएको हो।
समस्याग्रस्त तथा सिडि रेसियो ९० प्रतिशत नाघेकाको हकमा भने राष्ट्र बैंक केही लचिलो देखिएको छ। यी दुईको हकमा भने ०.१५ प्रतिशतसम्म ब्याजदर थप गर्न पाउने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले ब्याजदरमा सीमा यो तोकिदिएको पहिलो पटक हो। यसअघि नेपाल राष्ट्र बैंकले ब्याजदरमा भद्र सहमतिको लागि दबाब दिने गरेको थियो। बुधबार दिएको निर्देशनअनुसार नै व्यक्तिगत निक्षेप बढीमा ९.४ र संस्थागत निक्षेप ८.४ प्रतिशत भन्दा माथि जान नसकिने नबिल बैंकका डेपुटी सीईओ सुजित शाक्यले बताए।