काठमाडौं– युवा वर्ग स्वरोजगार कर्जा १० जनाले मात्र लिएका छन्। सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने गरी युवा वर्ग स्वरोजगार कर्जा दिने व्यवस्था गरेको छ। तर, यो व्यवस्था कार्यान्वयन भएको करिब तीन बितिसक्दा पनि यो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले १० जनालाई जम्मा ३ लाख ३७ हजार रुपैयाँमात्र कर्जा प्रवाह गरेको छ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंक तथा वित्तीय संस्थाले युवा वर्ग स्वरोजगार कर्जा दिन सक्नेछन्। जसको लागि सरकारबाट उनीहरुले ५ प्रतिशत ब्याज पाउने छन्।
युवा वर्ग स्वरोजगार कर्जाको लागि नै आवेदन नआएकोले कर्जा दिन नसकेको बैंकरहरु बताउँछन्। उनीहरुका अनुसार राम्रो प्रपोजल लिएर कर्जा माग्नका लागि कोही युवा आएका छैनन् हामीले जसलाई पायो, उसैलाई कर्जा प्रवाह गर्ने कुरा भएन।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल भन्छन्, ‘कतिपय युवाहरु के काम गर्ने केको लागि ऋण लिन लागेको र कसरी व्यवसाय सञ्चालन गरेर नाफा कमाउने भन्नेबारेमा नै अनभिज्ञ भएर आउने गरेका छन्, उनीहरुलाई कसरी ऋण दिनु ?’
उनले भने, ‘बैंकहरुले दिने ऋण पनि सर्वसाधारणकै निक्षेपबाट हो। त्यसैले बैंक रिस्क लिन चाहँदैन, युवाहरुसँग धितो हुँदैन र उनीहरुसँग राम्रो परियोजना पनि नहुने भएकोले बैंकहरुलाई ऋण प्रवाह गर्न असहज भएकोले थोरैको संख्यामा सो विषयको कर्जा कम प्रवाह भएको हो। ’
युवा वर्ग स्वरोजगार कर्जा मात्र होइन, सहुलियतपूर्ण कर्जाको वर्गमा परेका अन्य कर्जाहरु पनि निकै कम मात्रामा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शिक्षित युवा स्वरोजगार कर्जा जम्मा १५२ जनाले ६ करोड ५७ लाख रुपैयाँ लिएका छन्। त्यस्तै विदेशबाट फर्केका युवा परियोजना कर्जा जम्मा ९०२ जनाले ६३ करोड २२ लाख रुपैयाँ लिएको तथ्यांकमा उल्लेख छ।
यसैगरी दलित समुदाय व्यवसाय विकास कर्जा एक हजार जम्मा ५० जनाले ६२ करोड २० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा १३७ जनाले ३ करोड ३४ लाख रुपैयाँ, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा २३० जनाले ५ करोड ३० लाख रुपैयाँ लिएका छन्।
कपडा उद्योग सञ्चालनको लागि २७० जनाले २ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिको लागि दिइने कर्जा २ जनाले ३ लाख ३७ हजार रुपैयाँ लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सहुलियतपूर्ण कर्जाकै बर्गमा परेको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भने सबैभन्दा बढी प्रवाह भएको छ। सो प्रकृतिको कर्जा ५१ हजार २७२ जनाले १ खर्ब २१ अर्ब ६ करोड रुपैयाँ प्रवाह भएको तथ्यांकमा उल्लेख गरिएको छ।
त्यस्तै सो प्रकृतिको कर्जा १ खर्ब १८ अर्व ५६ करोड रुपैयाँ धितोमा र २ अर्ब ४९ करोड रुपैयाँ विना धितोमा कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी महिला उद्यमशिल कर्जा भने ६६ हजार ६९० जनाले ६२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ लिएका छन्। यो कृषि कर्जापछिको सबैभन्दा बढी कर्जा जाने क्षेत्र हो।
महिला उद्यमशिल कर्जाको लागि सरकारले अन्य सहुलियतपूर्ण कर्जा भन्दा १ प्रतिशत भन्दा बढी ब्याज अनुदान पनि दिने गरेको छ।