काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दाको हकमा जम्मा ३५ दिन र राष्ट्रिय स्तरको बोलपत्रको हकमा जम्मा २१ दिनको अवधिमात्र दिइने गरी सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने भएको छ।
मंगलबार सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्ने आधार तयार बनाउनका लागि अर्थ मन्त्रालयमा भएको छलफलमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनमा भएको बोलपत्र सम्बन्धी व्यवस्थाको समयावधि घटाउन सुझाव दिएको हो।
हाल अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आव्हान गर्दा ४५ दिन र राष्ट्रिय स्तरको बोलपत्र आव्हान गर्दा ३० दिनको म्याद दिइने गरेको तर सो समय धेरै लामो हुदा समयमा नै काम नसकिने सम्भावना भएकोले त्यसलाई घटाएर ३५ र २१ दिनको बनाउन सुझाव दिएको हो।
यस्तै बोलपत्र स्वीकृत भएपछि प्रकाशन गरिने आशयको सूचनाको समयावधि पनि घटाउने प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थाअनुसार राष्ट्रिय स्तरको बोलपत्रको हकमा तीन दिन र अन्तर्राष्ट्रिय बोलपत्रको हकमा सात दिन लाग्ने व्यवस्था गरिएको छ। शिलबन्दी दरभाउपत्र पेश गर्ने समयावधिलाई पनि १५ दिनबाट सात दिनमा झारिएको छ।
छलफलमा निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले प्र्र्रस्तावित मस्यौदामा गरिएको व्यवस्था आफूहरुलाई स्वीकार्य रहेको प्रतिक्रियासहित यतिले मात्र पर्याप्त नहुने भन्दै संस्थागत हिसावले ३९ बुँदे सुझावपत्र पेश गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यलाई गति प्रदान गर्ने, गुणस्तरीय काम गर्ने र पुँजीगत खर्च बढाएर राष्ट्रिय पुँजी निर्माणमा समेत योगदान गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा समसामयिक संशोधन गर्नु आवश्यक रहेको बताए। उनले सार्वजनिक निर्माणको गुणस्तर, पारदर्शिता र प्रतिष्पर्धाको मर्मलाई ध्यान दिएर संशोधन प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिए।
मन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको लागि परामर्शदाता छनौट गर्दा सम्भव भएसम्म स्वदेशी जनशक्तिलाई प्राथमिकता दिनेगरी व्यवस्था गर्न निर्देशन समेत दिए। उनले श्रम सहकारीमार्फत १० करोडसम्मको काम गर्न पाउने व्यवस्था कार्यान्वयन हुनेगरी कानुनी व्यवस्था मिलाउन निर्देशन दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयसहित विभिन्न मन्त्रालयका सचिवहरु, सहसचिव तथा विज्ञहरुले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका त्रुटी र सच्याउनुपर्ने विषयहरुको सम्बन्धमा धारणा राखेका छन्।
उनीहरुले नयाँ सार्वजनिक खरिद ऐनको मस्यौदा तयार गर्नुपर्ने, निर्माण व्यवसायीहरुको वास्तविक क्षमता पहिचान नगरी धेरै ठेक्का एउटै कम्पनीलाई थुपार्ने परिपाटीको अन्त्य गर्नुपर्ने, निर्माण व्यवसायीहरुले तोकिएको समयमा आयोजना सम्पन्न नगरेर वर्षौंसम्म अलपत्र पार्ने गरेको, असल नियतले गरेका निर्णयमासमेत कानुनी संरक्षण नपाउदा खरिद सम्बन्धी निर्णयहरुमा ढिलाई हुने गरेको लगायतका विषयहरु उठाएका थिए।
कार्यदल गठन
सार्वजनिक खरिद ऐन २०६३ लाई समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ।
सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा सोमवार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, सहरी विकास, उर्जा, वन, भूमि व्यवस्था मन्त्रालयलगायतका प्रतिनिधिहरु सदस्य रहनेछन्।
कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासंघसहित विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सुझावहरुको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेश गर्नेछ।