काठमाडौं– यही कात्तिक १ गतेदेखि लागु हुनेगरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाएपछि त्यसको असर सेयर बजारमा परेको छ। आज मंगलबार सेयर बजार परिसूचक ७७.३३ अंकले ओरालो लागेर २५१०.७३ अंकमा अडिएको छ।
सोमबार अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि राखेर सूचना प्रकाशित गरेका थिए। निक्षेपमा नै १० प्रतिशतभन्दा बढी ब्याज दिने भएपछि उनीहरुले प्रवाह गर्ने कर्जाको समेत ब्याज बढ्ने र त्यसको सिधा असर सेयर बजारमा पर्ने अनुमानका साथ लगानीकर्ताहरु थप लगानी गर्न हच्किएपछि बजार ओरालो लागेको विश्लेषण गरिएको छ।
यसदिन कारोबार पनि ३ अर्ब ७७ करोडमा सीमित भएको छ। केही महिना अघिमात्र दैनिक सेयर कारोबार २० अर्ब रुपैयाँ पुगेको थियो। आज सबै समूहगत परिसूचक पनि ओरालो लागेका छन्। जम्मा ७ वटा कम्पनीहरुले कमाएका छन् भने १७८ कम्पनीले गुमाएका छन्। दुईवटा कम्पनीको मूल्य परिवर्तन भएको छैन।
मंगलबार सबैभन्दा बढी कमाउनेमा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्।
सबैभन्दा बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्स प्रालिका लगानीकर्ता छन्। नबिल बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ।