काठमाडौं– पछिल्लो समय वाणिज्य बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा चलिरहेको छ। तरलता अभावका कारण निक्षेप ‘खोसाखोस’ हुन थालेपछि बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गरेका छन्।
हिमालयन बैंकले निक्षेपको ब्याजदर ११.६६ प्रतिशत पुर्याएको छ। यो ब्याजदर वाणिज्य बैंकहरुले दिने अहिलेसम्मकै बढी ब्याज हो। अहिलेसम्म उसले निक्षेपमा ८ प्रतिशत ब्याज दिइरहेको थियो।
सरकारको खर्च बढे पनि रेमिट्यान्स आप्रवाहमा आएको कमी, विदेशी पर्यटक आगमनमा पनि कमी र कर्जाको मागमा आएको बढोत्तरीका कारण बजारमा तरलता अभाव भएको छ। रकम अभावलाई कमी गर्नका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका हुन्। अर्कोतर्फ आफ्ना ग्राहकलाई रोक्नका लागि पनि बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर उल्लेख्य रुपमा बढाएका छन्। साथै व्यक्तिगत निक्षेपको ब्याजदर पनि बढाएका छन्।
अधिकांश बैंकहरुले कात्तिक १ (सोमबार)देखि लागू हुने गरी ब्याजदर बढाएका हुन्। करिब ३ वर्षअघि पनि तरलता अभाव भएको भन्दै एनआईसी एसिया बैंकले निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्याएको थियो। त्यसका कारण बजारमा समस्या सुरु हुने भन्दै नेपाल बैंकर्स संघको बैठक बसेर ब्याजदर जथाभावी रुपमा नबढाउने भद्र सहमति गरेका थिए।
अहिले पनि बजारमा ब्याजदर बढिहेकोले सोही दिन नफर्कला भन्न सकिँदैन। नेपाल बैंंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले फेरि पनि बैंकरहरुबीच भद्र सहमति गर्नेबारे अहिलेसम्म सोचिनसकेको बताए। ‘कात्तिकमा कम्तीमा १ देखि डेढ प्रतिशतसम्मले ब्याजदर बढ्छ भन्ने त हाम्रो प्रक्षेपण नै थियो। तर केही बैंकहरुले भने अलि बढी नै बढाएका छन्, त्यो उनीहरुको आन्तरिक कारणले हुनसक्छ,’ उनले भने।
अधिकांश बैंकहरुले कात्तिक १ (सोमबार)देखि लागू हुने गरी ब्याजदर बढाएका हुन्।
अहिलेसम्म ब्याजदर स्थिर राख्ने बैंक भने प्रभु बैंक हो। उसले भने ब्याजदरमा खासै परिवर्तन गरेको छैन। हिमालयन, लक्ष्मी र एनआईसी एसिया बैंकले भने ब्याजदर उल्लेख्य बढाएका छन्। अधिकांश बैंकहरुले १० प्रतिशतभन्दा बढी नै निक्षेपमा ब्याज दिएका छन्। संस्थागत तीन महिनाभन्दा माथिको मुद्दति निक्षेपमा बढी ब्याज पाइनेछ।
बैंकहरुले धमाधम ब्याजदर परिवर्तनको सूचना जारी गरेसँगै व्यापारीहरु कर्जाको ब्याजदर बढ्नेमा सशंकित बनेका छन्। ‘एक–दुई प्रतिशत बचतकर्तालाई ब्याजदर बढेको ललिपप दिएर ९८ प्रतिशत ऋणीहरुको ढाड सेक्ने काम बैंकहरुले गर्छन्,’ एक उद्योगीले भने।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि कर्जाको ब्याज बढ्ने कुरामा चिन्तित छन्। उनले सोमबार बिहान ट्विट गर्दै बैंकहरुले ब्याजदरमा नयाँ होडबाजी सुरू गरेकोले कोरोनाले थला परेको अर्थतन्त्र केही चलायमान हुँदै गर्दा ब्याजदरका कारण फेरि समस्यामा पर्न सक्ने देखिने दाबी गरेका छन्।
यता, वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाउँदा सहकारीमा पनि दबाब परेको छ। वाणिज्य बैंकहरुले सहकारीले दिनेजत्ति नै ब्याज दिन थालेपछि ग्राहकहरु वाणिज्य बैंकतिर नै जाने जोखिम बढेको सहकारी सञ्चालकहरुको तर्क छ।
निक्षेपको ब्याज बढ्दा बचतकर्ताको हकमा भने राम्रै हुन्छ तर कर्जाको पनि ब्याज बढ्ने हुँदा ऋणीहरुलाई भने भार पर्छ।