काठमाडौं- धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको छ। मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो।
तनहुँस्थिति तल्लो मर्स्याङ्दी विद्युत गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने भएको हो। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दसैंको बेलामा विद्युतको माग कम हुने मौका पारेर स्विचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए। ‘अन्य समयमा मर्स्याङ्दी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्नसक्ने अवस्था नै थिएन,’ उनले भने, ‘त्यसैले दसैंको बेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्विचिङ स्टेसन चार्ज भयो।’ घिसिङका अनुसार अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत जडान गर्न सक्ने छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो। कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२-१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो।
कार्यकारी निर्देशक घिसिङका अनुसार, स्विचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन्। ‘स्विचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत उपलब्ध गराउन पूर्वाधार तयार भएको छ,’ घिसिङ भन्छन्। घिसिङका अनुसार त्यहाँबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरिने र सो क्षेत्रको विद्युत आपूर्ति समेत विश्वसनीय हुनेछ।’