आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रेमिट्यान्समा आएको कमीले दलदलमा फस्दै नेपाली अर्थतन्त्र

रेमिट्यान्समा आएको कमीले दलदलमा फस्दै नेपाली अर्थतन्त्र

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठका अनुसार साउनमा मात्र नभएर भदौमा पनि साउनकै हाराहारीमा रेमिट्यान्स आप्रवाह घट्ने देखिएको छ।
 |  सोमबार, कात्तिक १, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, कात्तिक १, २०७८

vianetvianet

काठमाडौं – रेमिट्यान्स कम आउन थालेपछि नेपाली अर्थतन्त्र समस्यामा पर्न थालेको छ। अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको रेमिट्यान्स आप्रवाहमा कमी आउँदा अर्थतन्त्रको इकोसिस्टम समस्या आउन थालेपछि विज्ञहरुले अर्थतन्त्रमा नै समस्या पार्न सक्ने चेतावनी दिइरहेका छन्। 

triton college

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २३.२३ प्रतिशत छ। यो सन् २०१८ को तथ्यांकलाई आधार मानेर गरिएको अध्ययन हो। तर त्यसअगाडि समयसमयमा गरिएको रेमिट्यान्ससम्बन्धी अध्ययनले नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २८ देखि ३३ प्रतिशतसम्म देखाएको थियो। 

रेमिट्यान्स आप्रवाहमा दुई महिना कमी आउनेबित्तिकै राष्ट्र बैंकका अधिकारी पनि चिन्तित हुन थालेका छन्। चालू आर्थिक वर्षको पहिलो महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशतले घट्यो। गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको छ। 

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ। जसले पनि नेपालमा भित्र्ने रेमिट्यान्समा कमी आएको हो। 

गत वर्षको पहिलो महिनामा ९० अर्ब ११ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो भने गत आर्थिक वर्षमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको थियो। राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख एवम् कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठका अनुसार साउनमा मात्र नभएर भदौमा पनि साउनकै हाराहारीमा रेमिट्यान्स आप्रवाह घट्ने देखिएको छ।

किन घट्यो रेमिट्यान्स?

National life insurance

कोभिड १९ का कारण विश्वका विभिन्न संंस्थाहरुले रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेका थिए। नेपालमा विश्व बैंकले कोभिडका कारण २० प्रतिशतसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान सार्वजनिक गरेको थियो।  राष्ट्र बैंकले पनि कोभिडको असर करिब १० प्रतिशत हाराहारीमा रेमट्यिान्स घट्ने अनुमान सार्वजनिक गरेको थियो। त्यति हुँदाहुँदै पनि गत आर्थिक वर्षमा रेमिट्यान्सको आप्रवाह बढ्यो। कोभिड १९ का कारण विश्वभर लकडाउन थियो। मानिस आउजाउ गर्न कठिन भएकाले नेपालमा आउने रकम औपचारिक माध्यम (बैंक तथा वित्तीय संस्था वा रेमिट्यान्स कम्पनी) बाट नै भित्रिए जसका कारण रेमिट्यान्सको वृद्धिदर धेरै देखिएको थियो। 

तर पछिल्लो समय कोभिड १९ का कारण विदेशमा काम गर्न जानेको संख्यामा पनि ह्वात्तै कमी आयो। राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ। जसले पनि नेपालमा भित्र्ने रेमिट्यान्समा कमी आएको हो। 

त्यस्तै नेपालमा सामान्य अवस्थामा भित्र्ने करिब ३३ प्रतिशत रेमिट्यान्स हुन्डीमार्फत आउने गरेको थियो। तर कोभिडका कारण हुन्डी कारोबारमा कमी आयो। पछिल्लो समयमा विश्वका अधिकांश देशले लकडाउन खुकुलो पारेका छन् भने अन्तर्राष्ट्रिय उडान पनि गर्न थालेको छ। बिस्तारै विश्वको आर्थिक गतिविधि सहज हुन थालेकाले हुन्डी कारोबारी पनि मौलाउन थाले जसको कारण औपचारिक माध्यमबाट आउने रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकले जनाएको छ। 

नेपालमा रेमिट्यान्सको कमी हुँदा दुईवटा कुरामा प्रत्यक्ष असर देखिएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख श्रेष्ठ बताउँछन्। पहिलो प्रत्यक्ष असर भनेको मुद्राको सञ्चिति र अर्को भनेको तरलताको समस्या। हाल नेपालको अर्थतन्त्र दुवै समस्याबाट गुज्रिरहेको छ। 

रेमिट्यान्सको पहिलो असर विदेशी मुद्रामा कमी 

नेपालमा विदेशी मुद्रा भित्रने सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स हो। तर रेमिट्यान्सको आप्रवाहमा कमी भएपछि विदेशी मुद्राको सञ्चितिमा प्रत्यक्ष असर पर्नेछ। नेपालमा हुन्डीमार्फत आउने रेमिट्यान्सको आप्रवाह पनि घटेको राष्ट्र बैंकले गरेको सूक्ष्म अध्ययनले देखाएको छ। जसका कारण विदेशी मुद्रामा चाप पेदा गर्छ। एकातिर रेमिट्यान्स आप्रवाह (प्रत्यक्ष र अप्रत्यक्ष) मा कमी आइरहेको छ भने अर्कोतर्फ आयात दुई महिनामा नै ३ खर्ब १४४ अर्ब रुपैयाँ भइसकेको छ। 

नेपालले आयातका लागि विदेशी मुद्राको नै प्रयोग हुने गरेको छ। गत साउनमा मात्र नेपालबाट ४५ अर्ब २१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा एक महिना मात्र बाहिरिएको छ। चाडबाडमा आयात दोव्वर वृद्धि हुने र सोहीअनुसारको विदेशी मुद्राको सञ्चिति पनि घट्ने निश्चित छ। 

‘अहिले नै समस्या आइसकेको भन्ने त होइन तर सम्भावना  नकार्न सकिँदैन’, राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले भने। 

विदेशी मुद्रा आयको तुलनामा व्यय तीव्र रुपमा हुन थालेपछि राष्ट्र बैंकले बैंकहरुलाई पर्यटक भिसामा बाहिर जानेहरुलाई २५० डलरदेखि ५०० डलरभन्दा बढी साट्न नदिनु भन्दै सर्कुलर पठाएको थियो। 

त्यस्तै गृह मन्त्रालयले पनि राष्ट्र बैंकको सल्लाहबमोजिम पर्यटन भिसामा बाहिर जानेहरुले २५० डलर लिएर गए पनि हुने व्यवस्था गरेको थियो। वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत रेमिट्यान्स आप्रवाहमा आएको तीव्र गिरावटले यस्तो व्यवस्था गर्न बाध्य भएको राष्ट्र बैंकले जनाएको छ। 

रेमिट्यान्सको दोस्रो असर तरलताको समस्या  

नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आएपछि तरलतामा समस्या देखिएको छ। विदेशबाट रेमिट्यान्स आउदा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा सो रकम भित्रने गरेको थियो। जसका कारण बैंकहरुलाई कर्जा दिन सहज भएको थियो। तर रेमिट्यान्समा कमी आएपछि निक्षेपमा कमी आयो जसका कारण बैंकिङ क्षेत्र तरलता अभावमा छट्पट्याइरहेको छ। 

तरलता अभाव भएपछि देशको सम्पूर्ण आर्थिक गतिविधिलाई नै असर पर्ने अर्थविद् अनलराज भट्राई बताउँछन्। उनका अनुसार रेमिट्यान्स नेपालमा नआउँदा निक्षेपमा असर गर्छ। निक्षेप नभएपछि बैंकहरुले कर्जा प्रवाह गर्न सक्दैनन् र कर्जा प्रवाह नभएपछि आर्थिक गतिविधि हुन सक्दैन जसको असर आर्थिक वृद्धिमा नै पर्नेछ। 

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स तथा आयातमा आधारित भएकाले पनि रेमिट्यान्समा समस्या आउनेबित्तिकै अर्थतन्त्रका अन्य अंग चल्न छोड्ने भएकोले अर्थतन्त्रलाई रेमिट्यान्समा नभएर निर्यातमा आधारित बनाउन नीतिगत पहल गर्नुपर्ने गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थ समितिमा बताएका थिए। 

उनले रेमिट्यान्समा ढुंगा लाग्नेबित्तिकै नेपालको अर्थतन्त्र धरापमा पर्ने चेतावनी पनि दिएका थिए। नभन्दै अहिले रेमिट्यान्समा आएको कमीकै कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न हुन लागेको राष्ट्र बैंकको अनुमान छ। ‘अहिले नै समस्या आइसकेको भन्ने त होइन तर सम्भावना  नकार्न सकिँदैन’, राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले भने। 

‘विदेशी विनिमय सञ्चितिको रकम घट्नु र बजारमा तरलता अभाव हुनु दुवैको मुख्य कारण रेमिट्यान्स आप्रवाहमा कमी भएकाले हो, त्यसैले नेपालको अर्थतन्त्र धराशयी हुन सक्छ’, अर्थविद् भट्टराईले भने। उनले नियामक निकायले अर्थतन्त्रमा आउन लागेको संकट निराकरणका लागि चाँडै उपाय अपनाउर्ने बताए।  


प्रकाशित: Oct 18, 2021| 12:13 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्