शनिबार, असोज १७, २०८३

१०४ दिनपछि वायुसेवा निगमको आन्दोलन स्थगित

कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारबाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ। आन्दोलनका कारण लामो समयदेखि अशान्त निगम बिस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि संस्थालाई निजीकरण गर्न लागिएको भन्दै निगमभित्रका ट्रेड युनियनले आन्दोलन गर्दै आएका थिए। गत असार १८ गतेदेखि असोज २५ गते सोमबारसम्म निरन्तर कार्यालय समयमा धर्ना र नाराबाी गर्दै विरोध जनाएका थिए।

 नयाँ सडकस्थित निगमको मुख्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हरेक दिन कर्मचारीले धर्नाको कार्यक्रम गर्ने गरेका थिए  झण्डै तीन महिनापछि विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाएपछि निगमभित्रको समस्या किनारा लाग्ने वातावरण बनेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही असोज २२ गते पर्यटन मन्त्रीमा प्रेम आलेलाई नियुक्त गरेका थिए। पदबहालीका क्रममा मन्त्री आलेले निगमलाई सुदृढ र प्रभावकारी ढङ्गले अघि बढाउने उद्घोष गरेका थिए। 

सोहीअनुरुप सोमबार मन्त्रालयमा पर्यटनमन्त्री आलेसँग भएको छलफलपछि कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए। निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आफ्ना सबै आन्दोलन स्थगित गरेको मन्त्री आलेलाई जानकारी गराए।

मन्त्री आले तथा वायुसेवा निगमका कर्मचारीबीच निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानुनसम्मत तरिकाले समाधान गर्ने सहमति पश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले जानकारी दिए। उनले भने, ‘महाप्रबन्धक र हामी कर्मचारीबीच समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिनुभएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौं।’

कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारबाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ। 

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले आन्दोलन गर्दै आएका थिए। आन्दोलनका कारण निगमका महाप्रबन्धक पौडेल १०२ दिनदेखि कार्यालय पुग्न सकेका थिएनन्। कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारबाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ। 

‘विभागीय मन्त्री आएसँगै निगमका कर्मचारीले जिम्मेवारी महसुस गरेर सङ्घर्षका कार्यक्रम स्थगित गरेका छन्, यसले निगमको सकारात्मक सन्देश गएको छ। बाँकी काम कारबाहीलाई प्रभावकारी ढङ्गले अघि बढाउँछौं’, उनले भने। निगमलाई कम्पनी लिमिटेड बनाउने कार्ययोजनाबारे पुनः छलफल गरेर मात्र निर्णय लिइने पनि महाप्रबन्धक पौडेलले बताए।

निगमका महाप्रबन्धक पौडेलले निगमलाई निजीकरण गर्न प्रबन्धपत्र र नियमावली परिवर्तन गरेर मन्त्रालय पठाएको भन्दै निगमका कर्मचारीले आन्दोलन गरेका थिए। कर्मचारी आन्दोलन रोक्न पर्यटन मन्त्रालयले निगमलाई निजीकरण गर्ने विषयमा छलफलसमेत नभएको र कम्पनी मोडलमा लैजाने प्रस्तावलाई अगाडि नबढाएको स्पष्ट पारेको थियो।

यसअघि सरकारले गठन गरेको विभिन्न सात वटा समितिले निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने र निजीकरण गर्नुपर्छ भन्ने सुझाव दिएकाले कार्यान्वयनको पहल सुरु गरिएको निगम व्यवस्थापनको भनाइ छ। रासस

प्रकाशित: Oct 13, 2021| 05:35 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्