काठमाडौं- पछिल्लो दुई साता बाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ। एकसातामा बाणिज्य बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप बढेको नेपाल बैंकर्स संघले जनाएको छ। संघका अनुसार पछिल्लो दुई सातामा मात्र ७६ अर्ब रुपैयाँले निक्षेप बढेको छ।
सो अवधिमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा पनि बृद्धि भएको छ। संघले सोमबार उपलव्ध गराएको तथ्यांक अनुसार पछिल्लो दुई सातामा बाणिज्य बैंकहरुले ८० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छन्। यो निक्षेपको तुलनाम ४ अर्ब रुपैयाँले बढी हो।
त्यस्तै असोज महिनामा मात्र बाणिज्य बैंकहरुको निक्षेप ८४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रबाह १११ अर्ब रुपैयाँले बढेको छ। नेपालीहरुको महान् चाडको लागि सामान आयात गर्नका लागि व्यापारी व्यवसायीहरुबाट कर्जाको मागमा भएको बृद्धिका कारण कर्जा प्रबाह बढेको संघको भनाई रहेको छ।
पछिल्लो समयमा निक्षेप बढेपनि बाणिज्य बैंकहरुमा तरलताको समस्या भने हटेको छैन। अल्पकालिन निक्षेप बढेकोले बजारमा तरलता नबढेको संघको धारणा रहेको छ।
२७ वटा वाणिज्य बैंकसँग गत शुक्रबार असोज २२ सम्ममा ४२ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ३९ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा रहेको संघले जनाएको छ।